धम्बोझीस्थित कृषि विकास बैंकको भवनमा इन्जिनियरिङ पढाई हुने
  • काँचुली खबर

३ मंसिर, नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित धम्बोझीमा रहेको कृषि विकास बैंकको भवनमा ईन्जिनियरिङ संकायको पढाई हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले उक्त भवनलाई प्रयोगमा ल्याउने भएको छ ।

कृषि विकास बैंकको तत्कालीन क्षेत्रीय कार्यालय रहेको धम्बोझी चोक नजिकै रहेको तीन तले भवन दुई वर्षदेखी प्रयोग विहीन अवस्थामा छ । कृषि बैंकको क्षेत्रीय कार्यालय नेपालगन्जबाट दाङ सारिएपछि खाली रहेको उक्त भवनमा विश्वविद्यालयले ईन्जिनियरिङ संकायको कक्षा संचालन गर्ने भएको हो ।

उक्त भवनलाई अहिले लुम्बिनी प्राविधिक विश्वविद्यालयले पाँच वर्षका लागि प्रयोग गर्न पाउनेगरी अनुमति प्राप्त गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले जानकारी दिए ।

कात्तिक ३० गते सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा सम्पन्न भईसकेकाले यहि मंसिर १५ गतेदेखि उक्त भवनबाट कक्षाहरू सञ्चालन गरिने रजिष्ट्रार भण्डारीको भनाइ छ । सिभिल इन्जिनियरिङतर्फका कोर्शमा ४८ जनाको कोटा रहेको छ । कृषि विकास बैंकको भवनमा साना ठूला गरी २४ भन्दा बढी कोठाहरू रहेको उनले बताए ।

रजिष्ट्रार भण्डारीले भने, ‘यो भवनले हामीलाई धेरै सहज हुन्छ । ५ वर्षसम्म हामी ढुक्कले यहाँबाट शैक्षिक गतिविधिहरू सञ्चालन गर्न सक्छौँ । त्यसपछि त खजुरामा पनि जग्गा प्राप्ति भइसक्छ भन्ने आशा छ ।’

लुम्बिनी प्राविधिक विश्वविद्यालयले हाल नेपालगन्जस्थित वन कार्यालयको परिसरको भवनमा केन्द्रीय कार्यालय राखेर आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । अहिले विश्वविद्यालयमा सूचना प्रविधितर्फ बिटेक इन आइटी र बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ भइरहेकोमा अब इन्जिनियरिङतर्फ बिटेक इन सिभिल र बिटेक इन आइटी इन्जिनियरिङको पढाइका लागि प्रक्रिया सुरु गरिएको उनले बताए ।

विश्वविद्यालयका लागि खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा ८६ बिघा जग्गा दिनका लागि खजुरा गाउँपालिकाले सिफारिस दिइसकेको छ । तर, केन्द्र सरकारका कारण विश्वविद्यालय स्थापना भएको दुई वर्षसम्म पनि जग्गा विश्वविद्यालयको नाममा आउन सकेको छैन । विश्वविद्यालयलाई खजुरा गाउँपालिकाले अहिले कार्यालय सञ्चालन भइरहेको भवन पनि प्रयोगका लागि दिइसकेको छ ।

  • ३ मंसिर २०८१, सोमबार १५:२३ प्रकाशित
  • Nabintech