वार्षिक ३० क्विन्टल मह उत्पादन गर्दै कोहलपुरकी नन्दकला
  • काँचुली खबर

१५ असोज, कोहलपुर । कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु. १४ लाख आम्दानी गर्दै आएकी छन । एक सय ३० घार मौरीपालन गरेकी सिजालीले मह बेचेर वार्षिक १४ लाख नाफा हुने गरेको बताईन ।

एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताईन । उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रुपमा चिनिन्छिन । आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने उनको भनाई छ ।

उनले घरमा मह प्रशोधनका उपकरणसमेत राखेकी छन । श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रुपमा सक्षम हुनुपर्ने बताउँछिन । महिला आर्थिक रुपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उनले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिईन ।

“स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन् । मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन”, नन्दकलाले भनिन, “प्राकृतिक रुपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्दछ ।” उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाईन । फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनी बताँछिन ।

एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताईन । जङ्गलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ ।

“समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ”, नन्दकलाले भनिन, “नश्ल सुधारिएको रानीमौरीको मूल्य रु. पाँच-छ लाखमा किन्नु पर्दछ । जुन सामान्य किसानलाई सजिलो छैन ।” जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिईन ।

एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः रु. ६००, ७०० र ८०० पर्ने जानकारी दिईन । मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ ।

सात वर्षअघि ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई सुरु गरेकी नन्दकलाले अहिले करिब २० लाखको मह बिक्री गर्ने गरेको बताउँछिन । सबै खर्च कटाएर वार्षिक रु. १४ नाफा हुने गरेको उनले जानकारी दिईन ।

महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले बताईन । “काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ । हालसम्म कोहलपुर र नेपालगञ्जको माग पुर्याउन नै सकिएको छैन”, उनले भनीन ।

नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको बताईन । स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उनले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिईन ।

गोरखापत्रबाट

  • १५ आश्विन २०८१, मंगलवार १४:४० प्रकाशित
  • Nabintech