पुरुषबाट महिला बनेकी जेसिका खड्काको कथा
  • काँचुली खबर

५ असोज, कोहलपुर । केही वर्षअघि उनी जीवन खडका भनेर चिनिन्थे । भित्रि मनले महिला बन्ने रहर । तर सामाजिक बाध्यता थियो । भित्रि इच्छा दबाएरै बसे । तर दबाएर कतिन्जेल बस्न सक्ने ? ‘हाल म जेसिका खडकाले चिनिन् थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २५ वर्षीया सुन्दरी खुलिन । सानै छँदा बुबा-आमा बिते । माया गर्ने भेटिएनन् । बिद्यालय जान्थे । शारिरीक स्वभाव महिलाको जस्तो थियो ।

साथीभाईहरुले मजाकमा उडाउँथे । उनको आत्माबल कमजोर बन्थ्यो । तर बिद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भने चर्चा उनकै थियो । कारण थियो उनले गर्ने नृत्य । उनी हरेक गीतमा नाच्थे । दर्शकहरु नाचको प्रशंसा गर्थे । केटी बनेर नाच्न पाउँदा उनी हुरुक्कै हुन्थे । ‘सानै उमेरदेखि मेरो केटी बन्ने चाहना थियो । सांस्कृतिक कार्यक्रमले त्यो जुराउँथ्यो,’ उनले मनको बहा पोखिन, ‘समान्य अवस्थामा महिला बनेर हिड्न समस्या हुन्थ्यो । तर सांस्कृतिक कार्यक्रममा भने महिला बन्न छुट थियो ।’ कलाले लैगिक विभेद स्वीकार्दैन ।’

जान्ने भएदेखि जेसिका बनेर नखुल्दासम्म लामो समय उनी उकुसमुकुसमै बिताईन । इच्छा दबाएर बाँचिन । अन्तरआत्माले महिला बन्ने सपना पूरा नहुँदा एक्लै रुन्थिन । सामाजिक परिवेशले बाँधेको थियो । एक मनले महिला बनेर स्वछन्द भएर हिड्न चाहन्थिन । तर सामाजले गर्ने ब्यवहारले आफूलाई रोक्थिन । ‘एक्लै घरमा भएका बेला रुन्थे । आफूले आफैलाई धिकार्थे,’ जेसिकाले भनिन्, ‘नाच्नु र गाउनु मेरा बाल्यकालदेखिको रहरले यहाँसम्म ल्याई पुर्यायो ।’ उनि आफुलाई तेस्रो लिगी होईन महिला भन्न बढी रुचाउँछिन ।

जेसिका जति नाच्नमा पोख्त छिन त्यही धेरै गीत गाउन पनि । अनौठो के भने उनी महिला र पुरुष दुबैको आवाजमा गीत गाउँछिन् । मेला महोत्सवमा उनको माग बढ्न थालेको छ । डान्स, महिला-पुरुषको स्वरमा गीत गाउन सक्नु उनको फरक क्षमता हो । हिन्दी, नेपाली गीतहरु ब्यवसायिक गायकजस्तै मजाले गाउँछिन । ‘भगवानले मलाई फरक क्षमता दिएको छ । महिला पुरुष दुबैको स्वरमा गीत गाउँन सक्छु,’ महिला आवाजमै उनले सुनाईन,‘हाल मेरो माग बढ्न थालेको छ । गीतका लागि पनि अफर आईरहेका छन् ।’

सुरुमा उनले थारु भाषाको गीत गाउने अवसर पाएकी थिईन । उक्त गीत रुचाइएपछि माग बढेको हो । राजधानी काठमाडौंबाट पनि गीतका लागि अवसर आउन थालेकोमा उनी निकै खुसी छिनज । ‘पहिले जतिनै दुःख गरेपनि हाल आएर मेरो सपना पूरा हुन थालेको छ,’ उनले भनिन्, ‘अवसरहरु पाउन थालेको छु । आफूलाई त्यसरी नै तयारी पनि गरिरहेको छु ।’

तेस्रो लिगीहरुको हकहितमा काम गर्ने संघसंस्थाहरुको सहयोग पाएपछि उनलाई खुल्न सहज भएको हो । ‘जन्म दिने बुबाआमाले जीवन नाम दिए । कर्मले जेसिका,’ उनले भनिन् । जेसिकाको संघर्षपछिको सफलताको प्रचार हुँदै गएपछि सन्चार माध्यमहरुले अन्तरवार्ता र कुराकानीका लागि बोलाउन थालेका छन् । टेलीभिजन र रेडियोहरुमा उनले संघर्षपछिको सफलता बारे बोलिरहेकी छन् ।

‘पहिले अनेकथरी भन्नेहरु प्रसंशा गर्न थालेका छन्,’ उनले भनिन, ‘जेसिकाका नामले चर्चामा आउन सकेकोमा निकै खुसी छु ।’

  • ५ आश्विन २०८१, शनिबार १६:३५ प्रकाशित
  • Nabintech