बिस्फोटको संघारमा मेयर-उपमेयरको द्धन्द्ध

बारम्बार अपमानित हुनुपरेको उपमेयर सुवेदीको गुनासो

  • काँचुली खबर

२७ पुष, कोहलपुर । कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले आफु बारम्बार अपमानित हुनु परेको खुलासा गरेकी छन । कोहलपुर नगरपालिकाको १४ औं अधिबेशनमा बोल्दै उपमेयर सुवेदीले मेयरका कारण बारम्बार आफ्नो स्वाभिमान गुमेको उल्लेख गर्दै यस्तो खुलासा गरेकी हुन ।

उपप्रमुख जस्तो गरिमामय पदमा बसिरहँदा स्वाभिमान गुमेको जस्तो महसुस भइरहेको बताउँदै सुवेदीले भनिन्, ‘लोकप्रिय मत ल्याएर जितेपनि पटक-पटक आफ्नो स्वाभिमान गुमेको जस्तो महसुस भयो ।’

आफुलाई नगरपालिकाबाट सञ्चालन हुने योजनामा सहभागिता नगराइएको भन्दै उपमेयर सुवेदीले आक्रोश समेत पोखेकी छन् । स्थानीय सरकार कार्यसञ्चालन ऐन २०७४ ले प्रमुखलाई जत्तिकै अधिकार उपप्रमुखलाई दिए पनि मेयरले कुनै पनि योजना छनौटमा आफुलाई सहभागी नगराउने गरेको भन्दै उनले रोष ब्यक्त गरीन ।

स्थानीय सरकारको कानुनले उपप्रमुखलाई महत्वपूर्ण जिम्मेवारी दिइरहेका बेला उप प्रमुख सुवेदीले भने आफुलाई नगरका योजनामा सहभागिता नगराइएको र समन्वय तथा सहकार्य नगरिएको भनि गम्भिर खुलासा गरेकी हुन् । नगरपालिकाको १४ औं नगर सभामै बोल्ने क्रममा उपप्रमुख सुवेदीले यस्तो अभिव्यक्ति दिएपछि सभाका सदस्यहरु नै आश्चर्य चकित परेका छन ।

“नगर उपप्रमुखलाई नगरबाट हुने सम्पूर्ण योजनामा सहभागिता गराउनु पर्छ कि पर्दैन ? उपप्रमुखसंँग समन्वय र सहकार्य गर्नुपर्छ कि पर्दैन ? म आदरणीय नगर प्रमुख ज्युसँग यसको उत्तर खोज्न चाहन्छु” नगरसभामा बोल्दै सुवेदीले भनिन, ‘पटक-पटक समन्वय गर्न खोज्दा पनि मेयर साबले तपाईलाई सिमित अधिकार छ, समन्वय समिति र अनुगमन समिति बाहेक अन्य तपाईको अधिकार क्षेत्रभित्र होईन भन्ने जस्ता गैरजिम्मेवार उत्तर दिनुभयो । यो कहाँसम्म जायज हो ? ’

उनले कानुन निर्माण गर्दा पनि आफुलाई कुनै जानकारी नदिइएको भन्दै गुनासो गरेकी छन् । नगरमा हुने योजना निर्माणसंगै नगरमा बन्ने बिभिन्न समितीमा आफुलाई बाईपास गरेको प्रति आक्रोस पोख्दै नगर उपप्रमुख सुबेदीले अधिकार बाँडफाँटमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बल मिच्याई गर्ने गरेको आरोप समेत लगाईन ।

भत्ताकालागी मात्रै आफु समितीमा बस्न नचाहेको प्रष्ट पार्दै उपमेयर सुवेदीले आफनो अधिकार सुरक्षित राख्न चाहेको समेत बताएकी छिन । उनले भनिन “म जस्तो पैसाको बारे चासो नराख्नेलाई जसरी बायोस गरिएको छ यो सरासर राम्रो हैन, अझै पनि महिलालाई दास बनाउन सकिन्छ भन्ने मनशाय नगर प्रमुखमा देखियो । यो मेरो हकमा स्विटेवल छैन ।”

नगर प्रमुख पूर्णप्रसाद आचार्यले भने आफुले उपप्रमुख सुवेदीसँग समन्वय गरेर काम गरिरहेको दाबी गरेका छन् । उनले नगरको निति बिधि र कानुन सम्मत नै काम गरिरहेको दावि गरेका छन ।

कतिपय स्थानीय तहमा राजनीति प्रतिशोधका कारण प्रमुख र उप प्रमुख बीच सम्बन्ध चिसीएको देखिन्छ । तर कोहलपुरको परिघटना भने पृथक छ । एउटै पार्टी नेपाली काँग्रेसबाट जिते गएका प्रमुख र उपप्रमुख बीचको द्धन्द्धले नगरपालिकामा प्रतिनिधित्व गर्ने अन्य दलका जनप्रतिनिधिहरु आश्चर्यमा परेका छन । नगरपालीका भित्र ब्याप्त असन्तुष्टिहरु विस्फोटको संघारमा पुगेको उनिहरुको बुझाई छ ।

  • २७ पुष २०८०, शुक्रबार १६:३६ प्रकाशित
  • Nabintech