समितिका सदस्यहरु भन्छन, ‘कानुन संशोधन गर्नुको विकल्प छैन’
  • काँचुली खबर

१९ पुष, कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरुले विद्यमान कानुन संशोधनको विकल्प नरहेको बताएका छन । बिहिबार प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरुले मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने नागरीकहरुको अधिकार सुनिश्चित गर्न ऐन कानुन संसोधन गर्नुपर्ने बताएका हुन ।

विद्यमान ऐनका कारण मध्यवर्ती क्षेत्रको विकासमा समस्या देखिएकाले अध्यादेश मार्फत भएपनि समस्या सम्बोधनका लागि समितीले सरकारलाई घच्घचाई रहेको पुर्व संघिय भौतिक पुर्वाधार मन्त्री तथा समितीका सदस्य वीर वहादुर वलायरले बताए ।

विपन्न, सुकुम्वासी, अब्यबस्थित बसोवासी, मध्यवर्ति क्षेत्रका बसोवासीहरुको वर्तमान अवस्था बुझि उनीहरुको अधिकार सुनिश्चितताका लागि प्रतिवेदन सहित सरकारलाई शशक्त दवाव सिर्जना गर्ने उद्धेश्यले समितीले बाँके बर्दियाका बफरजोन, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको अध्ययन गरीरहेको वलायरले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा शुरुवाती दिनमा ५ वटा बाघ रहेकोमा अहिले बढेर २५ वटा पुगेको भन्ने जानकारी आफुले पाएको भन्दै समितीका सदस्य वलायरले क्षेत्रफल कम तर जनावर बढि हुँदा मानव बन्यजन्तुको द्धन्द्ध बढ्दै जाने भएकाले तत्काल समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराउने समेत उल्लेख गरे ।

कार्यक्रममा बाँके क्षेत्र नं. १ का सांसद एवं कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सुर्य प्रसाद ढकालले आफ्नो कार्यकाल अवधि भित्रै कोहलपुर घुईयावारी सडक बनेरै छाड्ने दावी गरे । उनले बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने मध्यवर्ती क्षेत्रका स्थानियलाई विगतमा क्षतीपूर्ती स्वरुप २५ हजार मात्र उपलब्ध गराउने गरीएकोमा उक्त नितिलाई परिमार्जन गरी १० लाख ५० हजार पाउने ब्यवस्था गराउन समिती सफल भएको जिकिर गरे ।

कुसुम देखि बाँकेको चिसापानीसम्म सडक छेउमा तारजालिको काम समेत शुरुवात भईसकेको भन्दै ढकालले आगामी ४ वर्षभित्रै उक्त कार्य पुरा हुने बताए ।

पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरु सरस्वती सुब्बा, रुपा चौधरी र विनिता कठायतले समेत जलवायु परिवर्तन एक जटिल मुद्धा भएको उल्लेख गर्दै बफरजोनका किसानका मुद्धा र वन वातावरणका मुद्धा एक आपसमा मेल नखाने भएकैले समस्या समाधानमा कठिनाई आईरहेको बताए ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा देखिएको समस्या र त्यहाँका नागरीकहरुसँग अन्तरक्रिया गर्न संघिय संसद अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका ५ जना सदस्यहरु बुधबार कोहलपुर आएका हुन । उनिहरुले बुधबार नै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानियहरुसँग अन्तरक्रिया गरेका थिए ।

प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य सरला सुबेदी, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका सदस्य बिष्णु वेल्वासे, प्रेस सेन्टर कोहलपुर नगर समिती अध्यक्ष पुष्पराज हमाल, समाजवादि प्रेस सङगठनका कुशल दलामी, नेपाली काँग्रेस बाँके जिल्ला उपसभापति कृष्ण कार्की, कोहलपुर नगरपालिका वडा नं. १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह लगाएत बिभिन्न पत्रकार संघ संगठनका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

  • १९ पुष २०८०, बिहीबार १३:३८ प्रकाशित
  • Nabintech