कोहलपुर ९ र १५ मा ऐलानी जग्गाको नापजाँच सुरु
  • काँचुली खबर

८ पुष, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ र १५ मा ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । शनिबार औपचारिक कार्यक्रम गरी कोहलपुर ९ र १५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले पश्चिम रोडको चटार क्षेत्रबाट जग्गाको नापजाँच सुरु भएको बताए । जग्गाको नापजाँच र निस्सा वितरण सँगसँगै गरिने वडा अध्यक्ष योगीले जानकारी दिए ।

अध्यक्ष योगीका अनुसार निस्साको प्रमाणपत्र प्राप्त गरेकाहरुको नगरपालिकाबाट खटिएको प्राविधिक टोलिले जग्गा नापजाँच गर्ने बताए । त्यसका लागिे निस्सा प्रमाणपत्र संगै लिएर बस्न वडा अध्यक्षले वडाबासीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष योगीले वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी घरधुरी एक हजार बढी रहेको बताए ।

जसमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी ७० जना, ७७ जनाले फारम भरेपनि ७ जनाको अन्यन्त्र पनि जग्गा रहेको पाइएपछि मालपोत कार्यालयले ७० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी रहेको प्रमाणित गरेको वडाध्यक्ष ओपेन्द्र नाथ योगीले जानकारी दिए ।

त्यसैगरी ९५१ जना अव्यवस्थित बसोबासीले फारम भरेका छन् । यसअघि ८३५ जनाले मात्रै अव्यवस्थित बसोबासीले फारम भरेपनि पछिल्लो पटक राष्ट्रिय भूमि आयोगले भदौ २९ गते ३५ दिने सूचना जारी गरेर छुटपुटलाई फारम भर्न समय दिएको थियो । त्यसक्रममा वडा नं. ९ मा थप ११६ जनाले फारम भरेको वडाध्यक्ष योगीले बताए ।

त्यसैगरी कोहलपुर नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रति ऐलानी जग्गाको नापजाँच सुरु भएको जानकारी दिए । वडाध्यक्ष चौधरीका अनुसार वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी घरधुरी ८ सय २६ भन्दा बढी रहेको बताए ।

जसमा भूमिहीन दलित र सुकुम्बासीमा ७२ जनाले फारम भरेपनि १६ जनाको अन्यन्त्र पनि जग्गा रहेको पाइएपछि मालपोत कार्यालयले प्रमाणित गरेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

यसअघि ८ सय २६ जनाले मात्रै अव्यवस्थित बसोबासीले फारम भरेपनि पछिल्लो पटक राष्ट्रिय भूमि आयोगले भदौ २९ गते ३५ दिने सूचना जारी गरेर छुटपुटलाई फारम भर्न समय दिएको थियो । त्यसक्रममा वडा नं. १५ मा थप ६० जनाले फारम भरेको वडाध्यक्ष चौधरीले बताए ।

यस्तै कोहलपुर नगरपालिकामा करिव २० हजार घरधुरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार ती घरधुरीलाई लालपूर्जा वितरणको तयारीसहित पालिकाले जग्गा नापजाँचको कामलाई तीब्रता दिएको बताए ।

‘करिव २० हजार घरधुरीलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ जग्गा नापजाँचको कामलाई तीव्रता दिइएको छ’, उनले भने ‘चालू आर्थिक वर्षसम्म जग्गा नापजाँचको सम्पूर्ण काम पूरा गर्ने योजना छ ।’

कुनै पनि नागरिक भूमिहीन भएर बस्न नपरोस् भन्ने संघीय सरकारको नीति रहेको र त्यही अनुसार राष्ट्रिय भूमि आयोगले समेत काम गरिरहेकाले पालिकाले पनि संघीय सरकारको नीति र भूमि ऐनलाई टेकेर काम गरिरहेको उनको भनाइ छ ।

अहिलेसम्म कोहलपुरका १, २, ५, ८, १० र १२ नम्वर वडाको नापजाँच पूरा भएको नगरस्तरीय भूमिहीन सम्वन्धी उच्च स्तरीय समितिका संयोजक वीरेन्द्र कुमार शाहले बताए ।

शाहका अनुसार वडा नं. ३, ११, १४ को अन्तिम चरणमा पुगेको छ भने अब वडा नं. ९ र १५ मा नापजाँच सुरु भएको छ । त्यसपछि वडा नं. ४, ६, ७ र १३ को नापजाँच गरिने शाहले बताए ।

  • ८ पुष २०८०, आईतवार १५:५६ प्रकाशित
  • Nabintech