७ मंसिर, कोहलपुर । कोहलपुर नगरपालिकाद्वारा सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाले विरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।
वृक्षारोपण गरिने तर संरक्षणमा ध्यान कम दिँदा अधिकांश विरुवा मरेर जाने वा छाडा चौपायाले नष्ट गर्ने हुँदा विरुवाको संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाबाट २१८ थान ट्रि गार्ड सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नगरलाई हरित नगर बनाउन व्यापक मात्रामा गरिएको वृक्षारोपणको संरक्षण गर्नका लागि कोहलपुर लगायत बाँकेमा रहेका संघसंस्था, बैंक वित्तीय संस्था र व्यक्तिहरुले हालसम्म छ लाख ९७ हजार बढि रकमको २१८ वटा ट्रि गार्ड सहयोग गरेको बताए ।
उनले कोहलपुर नगरपालिकाको हरित अभियानप्रति ऐक्यबद्धता जनाउँदै बैंक, वित्तीय संस्था, प्याब्सन र एन प्याब्सन, उद्योगी व्यवसायी लगायत शैक्षिक संस्थाहरु गरेर ३८ वटा संस्थाहरुले सहयोग गरेको बताए ।
कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख बिरबहादुर थापाका अनुसार नगरमा तीन हजार ४० कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको विरुवा र अन्य पाँचसय गरेर नगरभरी तीन हजार पाँचसय विरुवा रोपिएको छ । ती विरुवा ठूलो भएपछि बाह्रमासे नगरमा हरियाली र सुन्दरता देखिने छ ।
विरुवाको संरक्षण गर्न नगरपालिका, स्थानिय र सरोकारवाला व्यक्तित्व, संघसंस्थाहरुले समेत यस अभियानलाई सहकार्य, सहयोेग गरेकोमा अभियान सफल हुने उनले विश्वास ब्यक्त गरे ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले विरुवा संरक्षण गर्ने दायित्व सबैको भएको जनाउँदै निर्वाचित जनप्रतिनिधि वा कार्यालयले मात्र गरेर नहुने बताए ।
नगरपलिकाको नगरप्रहरी पमुख थापाका अनुसार विरुवा संरक्षणका लागि क्रिसा, प्याब्सन, एन प्याब्सनले ५० वटा, एनएमवी बैंक लिमिटेड कोहलपुर शाखाले २० वटा, कृषि विकास बैंकले २० वटा, सुनिल राईस मिल बैजनाथले १७ वटा, लक्ष्मी सनराईज बैैंकले १५ वटा, शाईन रेसुङ्गा डेभलोपमेन्ट बैंक कोहलपुर शाखाले १० वटा, कालिका लघुवित्ति वित्तिय संस्था लिमिटेडले ८ वटा र अन्य संघसंस्था, उद्योगी र व्यवसायीले गरेर २१८ वटा ट्रिगार्ड सहयोग गरेका छन् ।
उनले थप संघसंस्था र व्यक्तिहरुले पनि विरुवा संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।
७ मंसिर २०८०, बिहीबार १२:२५ प्रकाशित