१९ असाेज, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज उपमहानगर क्षेत्रभित्र आज (शुक्रबार) पनि निषेधाज्ञा कायम गरीएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सम्भावित जाेखिमलाई मध्यनगर गर्दै आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेकाे हाे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरिएको छ ।
यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाए निषेधाज्ञा जारी गरिएकाे थियाे भने बिहिबार राति ८ देखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु लगाईएकाे थियो ।
यसअघि बुधबार बसेकाे सर्वपक्षीय बैठकले नेपालगन्जकाे कर्फ्युलाई खुकुलाे बनाउँदै लैजाने निर्णय गरेकाे थियाे । साेहि निर्णय अनुसार आज कर्फ्यु हटाएर निषेधाज्ञा मात्र जारी गरीएकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
१९ आश्विन २०८०, शुक्रबार ०८:३६ प्रकाशित