४ असोज, नेपालगन्ज । नेपालगञ्ज विमानस्थलबाट अवैधरुपमा काठमाण्डौं लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा करिब नौ लाख रुपियाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट ८ थान, पागनिसपागाका सचिन कुकरेजको साथबाट ८ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट ८ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट ८ थान गरी जम्मा ३२ थान मोवाईल बरामद गरिएको डिएसपी डाँगीले जानकारी दिए ।
उनीहरु चारै जनाको विमानस्थलमा झोला एक्सरे मेसिनमार्फत चेकजाँच गर्नेक्रममा मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट वन प्लस, अप्पो, रेलमी, रेडमी, सामसुङ मोबाइलका सेट बरामद गरिएको हो । मोबाइल खोलभित्र नरहेको र खुलारुपमा रहेको प्रहरीले जनाएको छ ।
यसअघि भदौ २५ गते पनि नेपालगञ्ज विमानस्थलबाट काठमाडौं जाँदै गरेको अवस्थामा एक्सरे मेसिनमार्फत चेकजाँचको क्रममा एकजना सरकारी कर्मचारीलाई स्रोत नखुलेको २६ लाख रुपियाँसहित प्रहरीले पक्राउ गरेको थियो ।
मोबाइल सेटसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाउने तयारी रहेको डाँगीले बताए ।
४ आश्विन २०८०, बिहीबार १३:०९ प्रकाशित