लोकसेवा आयोगको नाममा ठगी धन्दा, नक्कली सूचनाको भरमा हजार बढीले दिए आवेदन
  • काँचुली खबर

२१ साउन, कोहलपुर । बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भरे ।

लिखित परीक्षा दिनका लागि उनी जेठ महिनाको अन्तिमतिर धनगढी पुगे । धनगढी पुगेपछि तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उनको भेट भयो र डाँगी मार्फत नै उनले लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्याका कारण डाटाहरू नष्ट भएकाले परीक्षा रद्द गरिएको र पुनः दरखास्त दिनुपर्ने जानकारी पाए ।

त्यसपछि उनि घर फर्किए र सुरेन्द्र डाँगीकै सल्लाहअनुसार असार २० गते नेपालगन्ज बिपी चोकस्थित एक साइबर पसलबाट पुनः एक हजार रुपियाँ तिरेर सब इन्जिनियर पदका लागि अनलाइन फाराम भरे । फाराम भरे पश्चात् डाँगीकै कुराअनुसार उनीले साउन ७ गते कैलालीको अत्तरिया नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिए ।

साउन १८ गते उनको इमेलमा सुरेन्द्र डाँगीको नामबाट एउटा इमेल आयो । इमेलमा उनी लिखित परीक्षामा पास भएकाले मौखिक परीक्षाका लागि साउन २६ गते कैलाली आउन भनिएको थियो । उनका साथीभाइले सामाजिक सञ्जाल फेसबुकमार्फत शर्मालाई लिखित परीक्षामा सफल भएको र मौखिक परीक्षामा पनि थप सफलताको शुभकामना भन्दै उनको नामसहितको विवरण उल्लेख गरिएको सुदूरपश्चिम लोकसेवा आयोगद्धारा प्रकाशित सूचना पोस्ट गरे ।

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीको नाममा सूचना नं. १०४, मिति २०८०-४-७ गते प्रकाशित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको विषयको उक्त सूचनामा मनिष शर्मासहित ५ जनाको नाम लिखित परीक्षामा सफल भएको र २६ गते कार्यालय समयमा आवश्यक कागजातसहित मौखिक परीक्षाका लागि उपस्थित हुन भनी उल्लेख गरिएको छ ।

आफु पास भएको कुरा जब उनले आफ्नी दिदीलाई सुना्ए, त्यसपछि मात्र उनि ठगिएको कुरा खुल्न आयो । सुदूरपश्चिम लोकसेवा आयोगको वेबसाइट अनुसार २०८०-३-१२ गते सूचना नं. १०४-२०७९-८० को विज्ञापनमा सब इन्जिनियर पदका लागि साउन २७ गते मात्रै लिखित परीक्षामा सहभागी हुन आउन भनी सूचना जारी गरीएको थियो । वेबसाईटको सूचना देखेपछि देखेपछि यो सबै नक्कली रहेछ भन्ने कुरा थाहा पाएको शर्मा बताउँछन ।

सूचना तोडमोड गरी परीक्षार्थीलाई इमेल मार्फत पठाइएको नतिजा ।

‘मैले सुरेन्द्र डाँगीको सल्लाहअनुसार सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको विज्ञापनअनुसार पुनः सब इन्जिनियर पदका लागि अनलाइन फाराम भरेँ, तत्पश्चात् साउन ७ गते कैलालीको अत्तरियास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिएँ, त्यहाँ झन्डै एक हजार बढीले परीक्षा दिएका थिए, उनकै इमेलबाट १८ गते मलाई इमेल प्राप्त भयो’ शर्माले भने, ‘जहाँ मेरो नामसहित अन्य व्यक्तिको नाम पनि लिखितमा पास भएको उल्लेख गरिएको थियो र २६ गते मौखिक अन्तरवार्ता लागि बोलाइएको थियो, हामीलाई त परीक्षा पनि नक्कली गर्न लगाइएको रहेछ, किन यसो गरियो थाहा छैन, कसैले पैसा पनि मागेका छैनन्, के उद्देश्यले यस्तो गरियो जानकारी भएन ।’

सुरेन्द्र डाँगी नामक व्यक्तिले किन यसो गरेका हुन् ? पीडित शर्मा आश्चर्यमा छन । ‘पैसा पनि मागेका छैनन्, धेरै चिनजान पनि छैन, सम्पर्क पनि छैन, उहाँको फोन नम्बर पनि छैन, सबै सूचना उहाँले इमेलमार्फत दिनुहुन्थ्यो, किन यसो गर्नुभयो अचम्म लागेको छ’, शर्माले भने ‘परीक्षा नै नक्कली हो भने त म जस्ता परीक्षा दिएका हजारौँ व्यक्तिको जीवनसँग खेलबाड भयो ।’

यस विषयमा बुझ्नकालागि पीडित शर्मालाई इमेल पठाएका डाँगीसँग इमेलमार्फत सम्पर्क नम्बर माग्दा उनले उपलब्ध गराएनन् ।

उल्टै पीडित शर्माको फोन नम्बर र फेसबुक एकाउन्ट शनिबार बिहानदेखि ह्याक गरिएको छ । ‘मेरो मोबाइल फोनमा शनिबार बिहानबाट फोन आउँदा पनि आउँदैन, जाँदा पनि जाँदैन, घण्टी पनि बज्दैन, कसैले फोन गर्यो भने म्यासेजमा मिसकल मात्र देखाउँछ ।’ ‘फेसबुक एकाउन्ट पनि बिहानैबाट चलेको छैन, नयाँ पासवर्ड हाल भन्छ तर पासवर्ड हाल्ने ठाउँ देखाउँदैन ।’ पीडित शर्माले भने ।

सुरेन्द्र डाँगी नामका व्यक्तिले प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट मिति २०८०-०२-०५ गते सूचना नं. ३१४ को लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचनालाई एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ । उक्त सूचनामा ब.क्र.नं. ३, रोल नम्बर ४१० मा सफल उम्मेदवारमा अमृत चौधरीको नाम उल्लेख छ । डाँगीले अमृत चौधरीको नाम हटाएर एडिट गरी मनिष शर्माको नाम राखेको पाइएको छ ।

-गोरखापत्रबाट

  • २१ श्रावण २०८०, आईतवार १३:१९ प्रकाशित
  • Nabintech