११ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दा हुन रेशमलाल सापकोटा । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको संस्थापक सल्लाहाकारको रुपमा काम गरिसकेका सापकोटा खानेपानीको विषयमा विज्ञ नै हुन् ।
उद्योग वाणिज्य संघ कोहलपुरको संस्थापक सदस्यको भूमिका निर्वाह गरिसकेका सापकोटा यतिबेला कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता सस्थाको सह-कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा छन् । यहि श्रावण १२ गते हुने निर्वाचनमा सापकोटाले ४ दलिय गठबन्धन सहितको साझा समावेशी प्यानलको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
विभिन्न क्षेत्रमा आबद्ध भएर काम गरिसकेका सापकोटा हाल कोहलपुर माध्यमिक विद्यालयको विव्यस अध्यक्ष समेत हुन् । साथै प्राकृतिक चिकित्सालय र जनविश्वास सहकारीमा समेत आबद्ध भएर काम गरिरहेका छन् । कोहलपुरबासीसँग प्रत्यक्ष जोडिएको खानेपानी संस्थामा आफू नेतृत्वमा पुगेपछि खानेपानीमा भएको बेतिथि र अनियमितालाई शुन्यमा झार्ने उनले प्रतिबद्धता जनाएका छन ।
विभिन्न क्षेत्रमा काम गर्दै खारिएर आएका सापकोटा यति बेला आम कोहलपुरबासीलाई स्वच्छ खानेपानी खुवाउने कुरा नै पहिलो प्राथमिकता हो भन्दै चुनावी अभियानमा उत्रिएका छन् ।
त्यसका लागि हाल भूमिगत जलश्रोतको लागि डिप ट्युबेल र टयाङ्कीको क्षमतावृद्धि गरी थप ट्युबेल र ट्याङ्की निर्माण, कोहलपुरको मुख्य सडकको दुवै साइडमा पाइप बिस्तार, कोहलपुर क्षेत्रमा रहेका अन्य खानेपानी आयोजनालाई समेत समेटेर एकीकृत खानेपानी विकासको गुरु योजना निर्माण लगायतका योजनालाई विशेष प्राथमिकतामा राखिएको सापकोटा बताउँछन् ।
खानेपानी उपभोक्ता समितिको ४ वर्षे कार्यकालमा कोहलपुरबासीलाई सर्वसुलभ खानेपानीमा पहुँच पुर्याउने, लक्षित वर्ग, विपन्न, दलित, भूमिहीन सुकुम्बासीलाई अति सहुलियत मूल्यमा खानेपानी बितरण र मुख्य बजार क्षेत्रमा निशुल्क रुपमा उपभोग गर्ने गरी खानेपानीको धाराहरू मार्फत खानेपानी वितरण कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने सापकोटाले बताएका छन् ।
उनले आफ्नो प्यालनका सबै उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउन मतदाताहरूसँग अपिल समेत गरेका छन् ।
११ श्रावण २०८०, बिहीबार ०८:४३ प्रकाशित