१ साउन, कोहलपुर । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । एमालेका नेतासमेत रहेका यादव आइतबार साँझ करिब ५ बजे बाँकेको नेपालगञ्जबाट पक्राउ परेका हुन् ।
माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि यादवमाथि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायाव उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । यादवलाई पक्राउ गरी आइतबार नै रुपन्देही पठाइएको छ ।
रुपेन्दहीमा बैंकिङ कसुर गरेको मुद्धा परेपछि उनलाई पक्राउ गरेर रुपन्देही पठाइएको डिएसपी डाँगीले बताए । यादव २०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँके निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित भएका थिए ।
पछि उनी सरकारमा सहभागी हुँदा पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो । जसपाले कारबाही गरेपछि यादव गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।
उनी गएको प्रदेशसभा चुनावमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।
१ श्रावण २०८०, सोमबार १०:२६ प्रकाशित