१८ बैशाख २०८१, मंगलवार
हनिमुन मनाउने समय छैन, सय दिनपछि गेयर बढाउछु : मन्त्री किराँती
  • काँचुली खबर

१७ फागुन, नेपालगन्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफुसँग हनिमुन मनाउने समय नरहेको बताएका छन । प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले जनताले प्रत्यक्ष महशुस गर्ने गरी काम गर्न वायु सेवा निगमलाई निर्देशन दिईसकेले सय दिनभित्र त्यसको परिमाण देखिने बताए । उनले आफु मन्त्रालयमा हनिमुन मनाउन नआएको बताउँदै सय दिनपछि गेयर बदलेर एक्सनमा उत्रने समेत बताए ।

काम नगर्ने कर्मचारी र वायु सेवा कम्पनीलाई सय दिनभित्र सुध्रन समेत उनले चेतावनी दिएका छन । हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार सो विषयमा गम्भीर रहेको उनको भनाई थियो ।

हवाई सुरक्षाकालागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको उनले बताए ।

देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटनको विकास अपरिहार्य भएको जनाउँदै मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना र कार्यक्रम तयार पारिरहेको बताए ।

हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्तीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । मन्त्री किराँतीले नेपालगञ्ज विमानस्थलमा तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरीएको बताए ।

वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै मन्त्री किराँतीले काम नगर्ने कर्मचारीलाई तुरुन्त कारबाही गरीने समेत प्रष्ट पारे । नेपाल वायु सेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने योजनामा रहेको उनको भनाई थियो ।

मन्त्री किरातीले पत्रकारका जिज्ञासाको जवाफ सम्बन्धित विभागका प्रमुखलाई दिन लगाएका थिए । सो अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पत्रकारका जिज्ञासाको जवाफ दिएकमा थिए ।

निर्माणाधिन टर्मिनल भवनको अवलोकन

सो अवसरमा मन्त्री किराँतीले नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गरी स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिएका थिए । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयार गरिएको २० वर्षे गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनको निर्माण कार्यलगायत मन्त्री किराँतीले रनवे, पार्किङ र विमानस्थलको उसमेत निरीक्षण गरेका हुन ।

सो अवसरमा उनले तीन अर्ब रुपियाँको लगानीमा भइरहेको विमानस्थलको स्तरोन्नतिको कामबारे नयाँ टर्मिनल भवन निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीसँग विस्तृत जानकारी लिएका थिए ।

नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको विमानस्थल निरीक्षण गर्दै उनले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन ।

टर्मिनल भवनको निर्माण कार्य गरिरहेको शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले मन्त्री किरातीलाई सो भवन निर्माणका विविध पक्षहरूबारे जानकारी गराएका थिए ।

निर्माण कार्यको जानकारी गराउँदै शर्मा एण्ड कम्पनीका निर्देशक शर्माले हालसम्म निकै तीव्र गतिमा काम भइरहेको जनाउँदै निर्धारित समय तीन वर्ष भन्दा पाँच महिना पहिले नै काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको सो टर्मिनल भवन करिब ८ हजार वर्गफिटमा तयार गरिनेछ । टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि निर्माण गरिनेछ ।

करिब ५० वर्ष पुरानो सो टर्मिनल भवनबाट दैनिक ५० देखि ६० वटा उडान सञ्चालन हुँदै आएको छ ।

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे, नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनाललगायतको उपस्थिति थियो ।

  • १७ फाल्गुन २०७९, बुधबार १८:०५ प्रकाशित
  • Nabintech