ईप्रका कोहलपुरको हिरासतमा एक थुनुवाको मृत्यु
  • काँचुली खबर

जेठ ११ , कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनी बुधबार बिहान करिब ५ बजेतिर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि-सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

मृत्यु भएका व्यक्तिमा पत्थरीको समस्या भएकोले औषधि सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको जानकारी दिए ।

केही दिनअघि मात्रै नेपालगञ्ज-२ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको ट्वाइलेटमै झुण्डिएर मृत्यु भएको थियो । एक साताको अन्तरमा फेरि अर्का एक थुनुवाको हिरासतमा मृत्यु भएको हो ।

  • ११ जेष्ठ २०७९, बुधबार १२:१३ प्रकाशित
  • Nabintech