चुनावमार्फत राष्ट्रघातीहरुलाई जनताले कारबाही गर्नेछन : मन्त्री अथक
  • काँचुली खबर

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आगामी निर्वाचन मार्फत जनताले प्रतिगमनकारी तथा राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताए । २७ औं जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन गृह जिल्ला बाँके आएका मन्त्री अथकले जनताको आन्दोलनबाट प्राप्त उपलब्धी भत्काउन देशभित्र र बाहिरका प्रतिक्रियावादी लागिपरेको भन्दै जनताले त्यस्ता तत्वहरुलाई निर्वाचन मार्फत कारबाही गर्ने बताए ।

देशमा अहिले पनि गम्भीर प्रतिक्रान्ति र राष्ट्रघातका खतराहरु मडारीरहेको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाली जनता त्यो महान जनता हो जसले सायैं वर्षको राजतन्त्र समाप्त गरेर आफ्नो शासन ब्यवस्था आफैले रोजेको हो, तसर्थ राजनितिका नाममा गरीने तमाम खालका हर्कतहरु चिर्न नेपाली जनता सक्षम छन ।”

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मन्त्री अथकले महान सहिदहरुको बलिदानबाट प्राप्त ब्यवस्था माथी ब्यवस्था बिरोधी तत्वले हालिमुहमली गरीरहेको बताए । गणतन्त्रका बिरोधीहरुले परिवर्तनको नेतृत्व गरेको माओवादीमाथी ज्यादती गर्न खोजिरहेकाले जनता जागरुक हुनुपर्ने अवस्था आएको बताउँदै मन्त्री अथकले आफ्नो अधिकार प्राप्तीकालागी गणतन्त्रपक्षधरहरु पुन एकजुट हुनुपर्ने बताए ।

जनयुद्धको बलमा संघियता, धर्मनिरिपेक्षता, समावेशी समानुपातीक प्रतिनिधित्व सहितको गणतन्त्र स्थापित गर्ने माओवादी संसारका कुनै पनि प्रतिक्रियावादीको अगाडी नझुक्ने बताउँदै मन्त्री अथकले राष्ट्रिय हित, स्वाधिनता, प्रतिष्ठा र जनताको सर्वोपरी हितकालागि सदैब लागिपर्ने समेत प्रष्ट पारे ।

नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाँउ कमिटिद्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अथकले ७० जना सहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरेका थिए । नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिम बहादुर घर्तीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने दुई दर्जन बढीलाई मन्त्री अथकले स्वागत गरेका थिए ।

  • १ फाल्गुन २०७८, आईतवार १८:३८ प्रकाशित
  • Nabintech