जुवाडेलाई समाउने नयाँ रणनीति: एम्बुलेन्समा गएर जुवा खालमा बाँके प्रहरीको छापा, साढे तीन लाखसहित ७ जुवाडे पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले जुवाडे समाउने नयाँ नयाँ रणनीति अपनाउने गरेको पाइएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा ८, झरकट्टीस्थित एक स्थानीयको घरबाट जुवा खेल्दै गरेको अवस्थामा गएराती साढे १२ बजेतिर ७ जना जुवाडेलाई प्रहरीले बिरामी लिने बहानामा एम्बुलेन्समा गएर पक्राउ गरेको छ ।
जुवाडेले जुवाखाल वरिपरि आफ्ना सुराकी राखेर जुवा खेलाउने गरेको पाइएकोले मोटरसाइकल र प्रहरीको आफ्नै गाडीबाट गएर पक्राउ गर्न असम्भव भएपछि बिरामी लिन जाने बहानामा जुवा खेलाउदै गरेको घरसम्म एम्बुलेन्समा गएर ती जुवाडेलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले साढे तीन लाख रुपैयाँ नगद रकम र दुई गड्डी तास बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको विशेष टोली, कोहलपुर इप्रकाको टोली र केही घुमुवाको सक्रियतामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । चाडपर्व भित्रिएसँगै जुवाडेहरु सल्बलाउन थालेका छन् ।

  • ९ कार्तिक २०७८, मंगलवार ११:१९ प्रकाशित
  • Nabintech