बाँकेको कोहलपुर नगरपालिकामा कोरोना समाग्री खरिद प्रक्रियामा विवाद भएको छ । शुक्रबार बिहान कोरोना सामग्री खरिद प्रक्रियाकालागि तयार पारीएको टिप्पणी च्यातिएपछि विवाद सिर्जना भएको हो ।
स्वास्थ्य शाखामा औषधिको अभाव देखिएपछि स्टोर शाखामा कार्यरत सिनियर अ.हे.व अधिकृत सारदा कुमारी चन्दले ५ लाख मुल्य बराबरको औषधि खरीदकालागि भदौ ३१ गते टिप्पणी उठाएकी थिईन । टिप्पणीमा कार्यालय प्रमुख अनिल सेन ठकुरी, कोरोना फोकल पर्सन गेहराज खनाल र स्टोर प्रमुख चन्दले हस्ताक्षर गरेका थिए । बिहिबार कार्यालय समय सकिएपछि शुक्रबार बिहान कार्यकारी अधिकृतबाट उक्त टिप्पणी सदर गर्ने तयारी गरीएको थियो । तर कार्यालय खुलेको केही समयमै कोरोना फोकल पर्सन गेहेराज खनालले स्टोर रुपमा रहेको उक्त टिप्पणी आफैले तानेर च्यातेपछि विवाद सुरु भएको नगर स्वास्थ्य शाखाका प्रमुख ठकुरीले जनाएका छन ।
कोरोना फोकल पर्सन खनालले भने टिप्पणी च्यातिएको विषयलाई लिएर आफुमाथी कुटपिट भएको गुनासो गरेका छन । खनालका अनुसार भदौ ३१ गते उठाईएको टिप्पणीमा के के स्वास्थ्य समाग्री ल्याउने भन्ने उल्लेख गरीएको थिएन । खरीद सामग्रीको लिष्ट नपाएपछि शुक्रबार बिहान कार्यालय पुगेर टिप्पणीबाट आफ्नो हस्ताक्षर हटाउन खोज्दा टिप्पणी च्यातीएको खनालले स्विकार गरे । टिप्पणी च्यात्तिएपछि नगर स्वास्थ्य शाखा प्रमुख ठकुरीले आफुमाथी कुटपिट गरेको खनालले दाबी गरे । उनले आफ्नो जीउधनको शुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुर उजुरी समेत दिएको बताए ।
यस विषयमा बुझ्न खोज्दा स्टो प्रमुख सिनियर अ.हे.व अधिकृत सारदा कुमारी चन्दले खनालमाथी कुटपिट भएको आफुलाई कुनै जानकारी नभएको बताईन । उल्टै खनालले आफ्नो कार्यकक्षमा पसेर आफुमाथी दुब्र्यबहार गरेको चन्दको गुनासो छ । चन्दका अनुसार एक दिन अगाडी खनाल आफैले हस्ताक्षर गरेको टिप्पणी अर्कोदिन जबरजस्ती घर्राबाट खोसेर च्यातेका थिए ।
‘गत २०७८ भदौ ८ गते कोरोना समाग्री खरिद व्यवस्थापन समितिले कोरोना समाग्री ल्याउने भनी निर्णय गरेको थियो’, उनले भनीन, ‘सो निर्णय अनुसार २०७८ भदौ ३१ गते टिप्पणी उठाएकी थिए ।’ २०७८ भदौ ३१ गते टिप्पणी पनि उठ्यो, सबैको हस्ताक्षर पनि भयो तर २०७८ असोज १ गते बिहान अफिसमा आउन वित्तिकै आफ्नो कार्यकक्षमा रहेको घर्राबाट टिप्पणी फाइल निकाली खनालले जबर्जस्ती च्यातेको चन्दले बताईन ।
यस विषयमा नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीसँग टेलिफोन कुराकानीमा खनालले आफु बिरुद्ध अनर्गल प्रचारवाजी गर्दै हिडेको बताए । कार्यालय समयमा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई अभद्र ब्यवहार गर्दै सरकारी कागजात च्यातेर खनालले नै गल्ती गरेको ठकुरीको बुझाई छ । खनालले आफ्नो गल्ती ढाकछोप गर्न कुटपिटको फर्जि काहानी बनाएर आफुमाथी झुठो आरोप लगाएको ठकुरीले जिकिर गरेका छन ।
१ आश्विन २०७८, शुक्रबार १६:३४ प्रकाशित