लेखराज भट्टको अण्डरमा काम गर्न भीम रावललाई ओलीको निर्देशन
  • काँचुली खबर

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश पार्टी इन्चार्जमा लेखराज भट्ट नै यथावत रहने बताएका छन् ।

पार्टीका सुदूरपश्चिम प्रदेशस्थित नेताहरुलाई बालकोटमा बोलाएर छलफल गरेपछि अध्यक्ष ओलीले अहिलेलाई माओवादीबाट आएका भट्ट नै त्यहाँको इन्चार्ज कायम रहने बताएका हुन् ।

ओलीले नेताहरूसँगको छलफलपछि पार्टी २ जेठ २०७५ मा फर्किए अुनसार इन्चार्जमा दाबी गर्दै आएका उपाध्यक्ष रावललाई सुदूरपश्चिम प्रदेशमा समन्वयकारी भूमिका खेल्न पनि निर्देशन दिएका छन् ।

आइतबार बिहान नेता रावल, भट्ट र एमाले प्रदेश अध्यक्ष कर्णबहादुर थापासहितका शीर्ष नेताहरुसँग बालकोट पुगेका थिए । उक्त भेटका क्रममा अध्यक्ष ओलीले यसअघि तोकिएको जिम्मेवारी हेरफेर नहुने बताएका हुन् ।

नेकपा एमालेलाई जेठ २ मा फर्काउने गरी असार २७ मा गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेका रावल नै हुन्छन् । तर ओलीले भट्ट नै इन्चार्जको जिम्मेवारीमा यथावत रहने बताएका हुन् ।

भट्टले गत फागुन २३ गतेको सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि माओवादी छाडेर एमाले रोजेका थिए । माधव नेपाल समूहसँग विवाद चलिरहेका बेला ओलीले भट्टलाई एमालेको सुदूरपश्चिम इन्चार्ज तोकेका थिए । त्यसबेला रावल माधव नेपाल समूहमा थिए ।

माधव नेपालसहितका नेताहरु असार २७ को १० बुँदे अस्वीकार गर्दै एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउन लाग्दा रावल एमालेमै फर्किएका थिए । रावल १० बुँदे कार्यदलका संयोजक समेत थिए । पार्टी जेठ २ मा फर्किने सहमतिपछि रावल स्वत आफैँ सुदूरपश्चिम संयोजक हुनुपर्ने अडानमा छन् ।

ओलीको निर्देशनलाई लिएर रावलले असन्तुष्टि जनाएका छन् । उनीनिकट एक नेताका अनुसार रावलले आफूमाथि अन्याय भएको भन्दै ओलीको उक्त निर्देशन १० बुँदे सहमति अनुसार नआएको पनि बताएका छन् ।

एमाले एक हुँदा ओलीविरुद्ध माधवसँग मिलेर शक्ति संघर्ष गरेका रावल अहिले एमालेमै फर्किएका छन् । सुदूरपश्चिम भूगोलमा उनले जिल्लादेखि प्रदेश सभासम्म आफ्नाहरुको साथ गुमाएका छन् ।

  • २७ भाद्र २०७८, आईतवार १६:१३ प्रकाशित
  • Nabintech