एमसिसी परिमार्जन नभएसम्म पास हुँदैन : नेपाल
  • काँचुली खबर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसिसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफुहरुको चासो रहेको बताएका छन । युवा संघ नेपाल लुम्विनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसिसी परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताए ।

नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताए । ‘हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।’ उनले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिए । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारवाहीको औचित्य सकिएको भन्दै उनले संसदमा नाकट प्रदर्शन भईरहेको टिप्पणी समेत गरे । पछिल्लो समय न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन भईरहेको भन्दै अध्यक्ष नेपालले यसले गलत संस्कारको विकास गरेको बताए ।

युवा संघका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, एकीकृत समाजवादीका केन्द्रीय सदस्य दलबहादुर सुनार, युवा सङ्घका महासचिव दीपक जिएम, उपमहासचिव सरिता श्रीष, कौशिला सिंह, रुपन्देही अध्यक्ष राजु गुरुङ, युवा सङ्घ बाँकेका अध्यक्ष कुश्माखर बस्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युवा संघ बाँकेको कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल शुक्रबार नेपालगन्ज आएका थिए । उनले पार्टीको बाँके जिल्ला कार्यालयको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

  • २६ भाद्र २०७८, शनिबार १७:२० प्रकाशित
  • Nabintech