सुमारलाई प्रचण्डको जवाफ, ‘राष्ट्रिय सहमती बिना एमसीसी अगाडी बढ्दैन’
  • काँचुली खबर

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ ।

शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी छन । झन्डै १ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले आफूहरू एमसीसी पासका लागि दबाब दिन नआएको बताइन् ।

जवाफमा अध्यक्ष प्रचण्डले नेपालमा एमसीसी विवादित भएकाले राष्ट्रिय सहमति गरेर मात्र यो विषय अगाडि बढाइने बताए ।

‘यो विषय नेपालमा बहस भयो । राष्ट्रिय सहमति बनाएर यो परियोजना अघि बढाउनुपर्छ,’ प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको गबन्धनमा पनि छलफल र सहमति गरेर अगाडि बढ्नुपर्छ ।’

हिजो नेपाल आएकी सुमारले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् ।

आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दै छिन् ।

  • २५ भाद्र २०७८, शुक्रबार ०९:२८ प्रकाशित
  • Nabintech