अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह
  • काँचुली खबर

सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np  मा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् ।

परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि +९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७-९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।

काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ ।

त्यस्तै मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।

हेर्नुस् परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्ति

  • ३१ श्रावण २०७८, आईतवार १९:२८ प्रकाशित
  • Nabintech