निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ ।
यससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्नका लागि बैठकको माइन्युटसहितका कागजात आयोगमा पेश गरेका थिए ।
आयोगले विवरण अध्यावधिक गरेसँगै महन्थ ठाकुर अध्यक्ष मात्र होइन केन्द्रीय कार्यकारिणी समिति सदस्य पदबाट समेत पदमुक्त भएका छन् ।
यद्यपि पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने देखिएको छ ।
अहिले केन्द्रीय कार्यकारिणी समिति अध्यावधिक गरिएको र यसैका आधारमा सांसद पद भने नजाने सचिव अधिकारीले बताए ।
पार्टीले कारवाही नगर्दासम्म उनीहरू पार्टीको साधारण सदस्यका रूपमा कायम रहने छन् ।
अध्यक्ष पद खोसिँदै गर्दा महन्थ ठाकुर जसपा अध्यक्षकै हैसियतमा जिल्ला दौडाहामा छन् । उनले तराईका विभिन्न जिल्लामा पुगेर कार्यकर्ता भेटघाट गरिरहेका छन् ।
२५ श्रावण २०७८, सोमबार १६:१४ प्रकाशित