भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो ।
निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गरियो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।
राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो । पछि हामी आफैंले पनि उपचार गर्यौ’, उनले भने । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् ।
बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
२७ जेष्ठ २०७८, बिहीबार १८:०३ प्रकाशित