तिन घण्टाको अन्तरालमा भेरीमा ३ संक्रमितको मृत्यु
  • काँचुली खबर

बाँकेको भेरी अस्पतालमा पछिल्लो ३ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेका तिन जनाको ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो ।

शनिबार बेलुका ७ बजे राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । बैशाख २ गते अस्पताल भर्ना भएका ति बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भेरीमै उपचाररत अर्का संक्रमितको पनि मृत्यु भएको छ । पहिलो मृत्युको ४० मिनेट पछि बाँकेको बैजनाथ गाउँपालिका ८ की ७८ वर्षिय महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । गत चैत्र ३१ गते कोरोना संक्रमण देखिएपछि ति महिलालाई बैशाख १ गते अस्पताल भर्ना गरीएको थियो । कोरोना संक्रमण पुष्टि भएको ४ दिनपछि उनको शनिबार बेलुका ७ः४० बजे मृत्यु भएको हो ।

यसैबिच नारायण गाँउपालिका १ दैलेखकी ६८ वर्षिय महिलाको समेत कोरोना संक्रमणकै कारण ज्यान गएको छ । गत चैत्र ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी ति महिलाको उपचारकै क्रममा शनिबार राती ९:३० बजे मृत्यु भएको बाँकेका कोरोना फोलक पर्सन ओलीले जानकारी दिए । योसँगै बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको सँख्या ९६ पुगेको छ भने जिल्लाभित्रका ६० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन ।

  • ४ बैशाख २०७८, शनिबार २३:०२ प्रकाशित
  • Nabintech