बाँकेको कोहलपुर वडा नम्बर १३ खड्कवारका डेभिड डाँगी अहिले जीवन र मृत्युको दोसादमा छन् । उनी दुई महिनादेखि ब्लड क्यान्सरका कारण अस्पतालमा थलिएका छन् । डेभिड गोल्डेन फिचर निबुवामा कक्षा २ मा अध्ययनरत छन् ।
फागुन पहिलो साता तिरको कुरा हो, उनी सधै झै उज्जवल भविष्य निर्माणको लागि विद्यालय गएका थिए । विद्यालयमा गएको बेलामा उनको अनुहारमा एक्कासी समस्या देखिन थाल्यो । उनको अनुहारमा घरि रातो, घरि निलो र घर कालो हुने समस्या देखिन थाल्यो । घरको कान्छो छोरालाई एक्कासी समस्या देखिन थालेपछि डाँगी परिवार आत्तियो । हत्तपत्त कोहलपुर ११ स्थित उज्ज्वल मेडिकल हलमा पु¥याइयो । त्यहाँका डाक्टरले केहीछिनको परिक्षणपछि कोहलपुर मेडिकल कलेजमा लिन सुझाए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा लिने वित्तिकै उनलाई शरिरमा रगत चढाइएको थियो । एक पाउण्ड रगत बाहेक अरु रगत शरिरमा चढेन । चार दिनको उपचारपछि अस्पतालले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रिफर गरिदियो । त्यतिबेलासम्म डेभिडलाई के रोग लागेको थियो, परिवारले केही पनि पत्तो पाउन सकेको थिएन ।
करिब एक महिनाको अत्यासपछि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले डेभिडलाई ब्लड क्यान्सर भएको पुष्टि ग¥यो । आर्थिक रुपमा विपन्न उनको परिवारमा एकाएक कालो बादल मडारियो । डेभिडकी हजुरआमा रामकली डाँगी क्षेत्रीले नातीको उपचारको लागि लाखौँ रकम लाग्ने अस्पतालले जानकारी दिएको बताइन् ।
अहिले चितवनस्थित अस्पतालमा रहेका उनको उपचारको लागि १४-१५ लाख रुपैयाँ लाग्छ । उनले घरको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको भन्दै लाखौँ रकम व्यवस्थापन गर्न धौधो भएको बताइन् । दैनिक किमोकालागि २२ हजार रुपैयाँ लाग्छ । प्रत्येक दिन अन्य औषधिको रकम छुट्टै लाग्ने उनको भनाई छ ।
उनले एक साताको अवधीमा मात्रै १ लाख ५ हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिइन् । ‘नातीको उपचारका लागि दैनिक हजारौ रुपैयाँ लाग्छ । अहिलेसम्म ऋण गरेर भएपनि चलाएका छौं । अब त घरखेत बेच्नु बाहेक अर्को विकल्प छैन ।’
उनका अनुसार नाती बिरामी परेदेखि घरमा धेरै तनाव छ । डाँगी परिवारले उपचारको लागि कोहलपुर नगरपालिका र वडा नम्बर १३ बाट सिफारिस समेत बनाएका छन । स्थानीय सरकारको सिफारिसपछि उपचारमा दुई लाख जति कम हुने भएपनि दैनिक खर्च जोहो गर्न धौधौ परेको रामकलीले बताईन । ज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आएका उनिहरु अहिले आफ्नो सन्तानको ज्यान जोगाउन दैनिक दौडधुप गरिरहेका छन् । डेभिडलाई लगातार एक वर्ष अस्पतालमा राख्नु पर्ने र त्यस अवधिभर औषधि चढाईरहनुपर्ने बताएपछि डाँगी परिवार थप तनावमा परेको छ ।
डेभिडको बुवा डिल बहादुर डाँगी र आमा रिता देवि सम्वाहाम्फे क्षेत्री अहिले चितवनमै छन । चितवनमा छोराको उपचार गराईरहेका उनिहरुले आफ्नो सन्तानको जिवन रक्षाकालागि सहयोग गरिदिन अपिल गरेका छन । डाँगी परिवारलाई सहयोग गर्न चाहने महानुभावहरुले चुडामणी ओलीको नाममा रहेको गरिमा विकास बैंक चप्परगौडी शाखामा रहेको खाता नम्बर ०७१०१८००८३७८२८००००० मा रकम जम्मा गर्न सक्ने ब्यवस्था मिलाईएको छ ।
१३ चैत्र २०७७, शुक्रबार १६:१४ प्रकाशित