बाँकेका आठ वटै स्थानीय तह ‘पूर्ण खोप’ पालिका घोषणा भएका छन् । बुधबार कोहलपुर नगरपालिकालाई ‘पूर्ण खोप’ सुनिश्तिता तथा दिगोपना घोषणा गरिएसँगै बाँकेका सबै स्थानीय तह पूर्ण खोप घोषणा भएका हुन् ।
बाँकेमा एक उपमहानगर, एक नगर र ६ गाउँपालिका छन् । जिल्लाको अन्तिम पालिकाको रुपमा कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा गरिएको हो ।
कोहलपुरमा १६-२३ महिना सम्मका बालबालिकाको पूर्ण खोप समायोजन प्रतिवेदन अनुसार कुल ७ सय ४० बच्चाहरुले खोप लगाएका हुन् । नगरपालिकामा थालिएको अभियानमा खोप कार्ड भएका ६ सय ५६ र कार्ड नभएका ८४ ले पनि खोप प्राप्त गरेका छन् ।
यसैगरी हाल खोप पाइरहेका ०-१५ महिना सम्मका बालबालिकाको ‘लाइन लिस्टिङ’ को समायोजन प्रतिवेदन अनुसार खोप कार्ड भएका १ हजार ६ सय ४, कार्ड नभएका ३४ र विभिन्न ६ जातमा विभाजन गरिएका मध्ये कुल १ हजार ६ सय ४२ जना बालबालिकाले खोप पाएका हुन् ।
यसैगरी घरधुरी सर्वेक्षण गर्दा भेटिएका खोप नलाएका १६ देखि २३ महिनाका १५ वटै वडाका कुल ३५ जनालाई विभिन्न पाँच रोगको खोप लगाइएको हो । बुधबार आयोजित एक समारोहका बीच जिल्ला पूर्ण खोप समन्वय समितिको कार्यालय बाँकेले कोहलपुर नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपनाको प्रमाण-पत्र’ प्रदान गरेको थियो भने नगरपालिकाले पनि सचिवालयलाई सबै प्रक्रिया पुरा गरेको प्रमाण- पत्र हस्तान्त्रण गरेको थियो ।
बाँके जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियान अन्तर्गत चालु आर्थिक वर्षमा डुडुवा गाउँपालिका सबैभन्दा पहिला माघ १३ गते र राप्तीसोनारी गाउँपालिका माघ २७ गते पूर्ण खोप घोषणा भएका थिए । फागुन ८ गते नरैनापुर, फागुन १४ गते बैजनाथ, फागुन २८ गते नेपालगन्ज उपमहानगर र फागुन २९ गते खजुरा गाउँपालिकालाई घोषणा गरिएको थियो ।
सबै पालिकामा १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई सम्पूर्ण खोप दिइएपछि सबै स्थानीय तह पूर्ण खोप युक्त पालिका घोषणा भएका हुन् ।
५ चैत्र २०७७, बिहीबार १९:०७ प्रकाशित