नेकपा एमालेभित्रको भुटगत राजनितिको असर पार्टीको भातृ संगठनमा समेत देखिन थालेको छ । बाँकेमा सबैभन्दा बढि सक्रिय रहेका युवा संघ र अनेरास्ववियुभित्र गुटगत किचलो देखिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा फागुन २९ गते बसेको बैठकले युवा र विद्यार्थीको संगठन पुनर्गठन गरेको थियो ।
बैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाँकेको पुनर्गठन गरेको थियो । जसअन्तर्गत कुश्माखर वस्यालको अध्यक्षतामा राष्ट्रिय युवा संघको बाँकेको ३३५ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरिएको थियो भने टेकेन्द्र मल्लको संयोजकत्वमा अनेरास्ववियुको १५१ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरिएको थियो ।
यद्यपी आफुलाई खबर नै नगरी युवा संघ बाँकेको जिल्ला कमिटी हेरफेर गरीएको भन्दै जिल्ला कमिटिका अध्यक्ष कुश्माखर वस्यालले आपत्ति जनाएका छन । सामाजिक संजाल फेसबुक मार्फत बस्यालले उक्त निर्णय आफुलाई मान्य नरहेको समेत बताएका छन ।
सामाजिक संजाल फेसबुकमा आपत्ति प्रकट गर्दै बस्यालले लेखेका छन्, ‘युवा संघ नेपाल जिल्ला कमिटी बाँकेको घोषणा भयो भन्ने कुरा सामाजिक संजालबाट भरखरै थाहा पाए । मेरो सल्लाह बिना गरिएको यो कमिटी घोषणा प्रति मेरो गम्भिर असहमति रहेको सबै युवा संघका मेरा प्रिय कमरेडहरुलाई जनाकारी गराउदछु । जबज जिन्दाबाद नेकपा एमाले जिन्दाबाद ।’
यस अघि नै अनेरास्ववियु बाँके गठनको बिषयलाई लिएर अनेरास्ववियु बाँकेका संयोजक टेकेन्द्र मल्लले बिरोध जनाईसकेका छन् । मल्लले आफ्नो अनुपस्थितिमा जबरजस्ती र मनोमानि ढङ्गले कमिटि घोषणा गरिएको भन्दै उक्त कमिटि बैधानिक नरहेको समेत बताएका छन ।
उनले सामाजिक संजालमा यस्तो लेखेका छन, ‘मेरो अनुपस्थितिमा जबर्दस्त र मनोमानि ढङ्गले कमिटि घोषणा गरिएको रहेछ । यो कमिटि बैधानिक छैन । अनेरास्ववियु केन्द्रिय सर्कुलर मसानघाट्मा फालि बेवास्त गरि र हालको परिभाषित जिम्मेवार पाएको कमिटि फालि नया कमिटि घोषणा गरेको कुरा आएको छ । यो बैधानिक छैन । अनेरास्ववियु ३१ सदस्य बाके जिल्ला कमिटि छ, यहि बैधानिक कमिटि हो । सम्पुर्ण अनेरास्ववियु जिल्ला बाँके सदस्यहरुलाई ११ बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।’
जिल्लाका दुबै भातृ संगठनका संयोजकहरुले नै पछिल्लो पटक पुनर्गठन गरीएको समिति मान्य नहुने बताएसँगै बाँकेमा एमालेभित्रको विवाद छताछुल्ल पोखिएको छ ।
३ चैत्र २०७७, मंगलवार १३:०४ प्रकाशित