१३ वर्षीय बालकसहित बाँकेमा तिनको मृत्यु
  • काँचुली खबर

बाँकेमा एकै रात कोरोना भाईरसका तिन जना बिरामीको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजना गरी तीन जनाको मृत्यु भएको हो ।

भाइरस संक्रमणबाट मृत्यु हुनेमा दाङका १३ वर्षिय बालकसहित बाँके र कंचनपुरका अन्य दुई जना रहेका छन । घोराही उपमहानगरपालिका-१८ दाङका ति बालकलाई स्वास्थ्यमा समस्या देखिएपछि पुष १९ गते अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा २० गते भाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । निमोनिया र मुटु रोगबाट पीडित समेत रहेका ती बालकको उपचारकै क्रममा मंगलबार विहान ७ः४५ मा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना अधिकारी तेज वलीले जानकारी दिए ।

यस्तै कोहलपुर मेडिकल कलेजमै उपचारका क्रममा महेन्द्रनगर-५ कंचनपुरका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज विहान ७ः२० मा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी पुष १७ गते अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै बाँकेको जानकी गाउँपालिका-३ का ६८ वर्षका पुरुषको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ । पुष ९ गते कोभिड आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषको मध्यराती १२ः२५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।

  • २१ पुष २०७७, मंगलवार १२:५५ प्रकाशित
  • Nabintech