नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगितामा तामाङ्ग प्रथम
  • काँचुली खबर

नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुद्धि बहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन ।
नेपालगन्ज नगरपालिकाको सहयोगमा नेपालगन्ज साइक्लिङ क्लवले आयोजना तथा नेपालगन्ज फोटोवाकरर्सको सहकार्यमा भएको साइकल दौड प्रतियोगितामा साधारण र प्रोफेसनल गरी दुई बिधामा प्रतिस्पर्धा भएको थियो । साधारण विधातर्फ २५ किलोमिटर र प्रोफेसनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगिता समावेश गरिएको क्लवका सचिव गगन थापाले जानकारी दिए ।

साधारण साइकल दौड प्रतियोगिता वीपी चोकबाट सुरु भई कोहलपुर पीपरी चोक हुँदै पुनः वीपी चौक पुगेर समापन भएको थियो । साधारण विधा पुरुषतर्फ जंगु थारु प्रथमभए भने जितेन्द्र चौहान दोस्रो र सुमन चौधरी तेस्रो भएका थिए । महिलातर्फ भने पार्वती सार्की प्रथम, सिता सार्की दोस्रो र टिका खड्का तेस्रो भइन् । विजेताहरुलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार बराबरको साइकल, ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो ।

त्यस्तै वीपी चोकबाट सुरु भएको प्रोफेसनल साइकल दौड प्रतियोगितामा कोहलपुर-च्यामा-सम्झना बजार-खजुरा-धम्बोजी हुँदै वीपी चोकसम्मको रुट तय गरिएको थियो । प्रोफेसनलतर्फ ५५ किलोमिटर साइकल दौड प्रतियोगितामा बुद्धि बहादुुर तामाङ्गले प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने हिक्मत बिक दोस्रो र टेक बहादुर बस्नेतले तेस्रो स्थान हासिल गरे । उक्त प्रतियोगिताका बिजयीहरुले पुरस्कार स्वरुप क्रमशः ३५, ३० र २५ हजार बराबरको साइकल प्राप्त गरे ।


बिजेताहरुलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भिम ओली, साइक्लीङ्ग क्लब नेपालगन्जका अध्यक्ष केशर बहादुर आले लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा १ सय ३१ जना सहभातीले प्रतिस्प्रधामा सहभागीता जनाएको आयोजक संस्थाले जनाएको छ ।

  • १४ पुष २०७५, शनिबार १७:४७ प्रकाशित
  • Nabintech