नगरपालिकामा अधिनायकवाद हावी भयो : उपप्रमुख चौधरी
  • काँचुली खबर

फाईल तस्बिर

कोहलपुर नगरपालिका अधिनायकवादतर्फ उन्मुख भएको नगर उपप्रमुख सन्जु कुमारी चौधरीले आरोप लगाएकी छन ।उपप्रमुख चौधरीले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकी हुन । नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधिलाई वेवास्ता गर्दै आफु खुसी निर्णय गर्ने र त्यसलाई जवरजस्ती लागु गराउँदै आएको चौधरीको भनाई छ । आफुले बारम्वार लेखा समिति गठनकालागि नगरप्रमुखको ध्यानाकर्षण गराउँदा समेत हालसम्म कुनै सुनुवाई नभएको भन्दै चौधरीले भनिन, ‘लेखा समिति गठनकालागि प्रक्रिया अगाडी नबढाएसम्म काँग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिहरुले नगरपालिकाको कुनैपनि बैठकमा सहभागीता नजनाउने निर्णय गरेका छौं ।’
गत कात्र्तिक ३० गते बसेको बैठकमा लिखित रुपमै लेखा समिति गठनकालागि माग गरेपनि त्यसपछि बसेका २ वटा बैठकमा त्यसबारे कुनै एजेण्डा अगाडी नसारीएको भन्दै उपप्रमुख चौधरीले दुःख ब्यक्त गरिन । नगरपालिकाले संचालन गर्ने कुनैपनि कार्यक्रमका बारेमा उपप्रमुखलाई जानकारी नगराईनु अधिनायकवादको संकेतका रुपमा आफुले महशुस गरेको चौधरीले दाबी गरीन ।
काँग्रेसबाट निर्वाचित ८ जना जनप्रतिनिधिहरुले नियमित बैठक बहिस्कार गर्दै आएको कोहलपुर वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेले जानकारी दिए । ३४ दशमलव ५ प्रतिशत जनप्रतिनिधिले संयुक्त रुपमा हस्तारक्षर गरेर लेखा समिति गठनकालागि माग गर्दा समेत कुनै सुनुवाई नभएको चलाउनेले बताए । विधानमा ३३ प्रतिशत सदस्यहरुले माग गरेको खण्डमा बिशेष अधिवेशन बोलाउन सकिने प्रावधान रहेपनि नगरपालिकाले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुको अनुपस्थितिमै महत्वपूर्ण निर्णय सहितका बैठकहरु संचालन गरिनु अपारदर्शीताको पराकाष्टा भएको चलाउनेले दाबी गरे । चलाउनेले नगरपालिकाको प्रशासनिक तर्फको ७ करोड ९८ लाख ५५ हजार र वित्तिय ब्यवस्थापन तथा शुसासन तर्फको २० लाख खर्चको पूर्ण वितरण सार्वजनिक गर्नकालागि समेत लेखा समिति गठन गर्न आवश्यक रहेको बताए । उनले लेखा समितिमार्फत नगरपालिकामा हुँदै आएको आर्थिक अपारदर्शिता रोक्न सकिने दाबी समेत गरे ।

  • ४ पुष २०७५, बुधबार २०:४७ प्रकाशित
  • Nabintech