बसोबास महिला बचत तथा ऋृण सहकारी संस्थाले शुक्रबार आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २ हजार ३ सय ५० सदस्य सँख्या रहेको बसोबास सहकारीले आवासको क्षेत्रमा विशेष लगानी गर्दै आएको संस्थाका अध्यक्ष गिता वलीले जानकारी दिईन । २०६३ सालमा रु. १० रुपौयाँ बचतबाट सुरु भएको सहकारीले विशेषगरी भूमिहिन, सुकुम्वासी र पिछडिएका समुदायकालागि आवास कार्यक्रम संचालन गर्दै आएको जानकारी दिदैं वलीले भनीन्, ‘कोहलपुर नगरपालिकाभित्र शहरी गरीव, भूमिहिन र सुकुम्वासीलाई सेवा प्रदान गर्दै आईरहेको यस संस्थाले ६ सय १० वटा शौचालय सहितका ब्यवस्थित घर निर्माण गरीसकेको छ भने ४ सय ५९ सदस्यकालागि शौचालय निर्माण गरिदिएको छ ।’
सभामा कोपाध्यक्षको प्रतिवेदन सार्वजनिक गर्दै संस्थाकी कोषाध्यक्ष तथा ऋण समिति संयोजक सिता कार्कीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा सहकारीले कुल ८ करोड २५ लाख ४० हजार ५ सय २१ रुपौयाँको कारोबार गर्न सफल भएको बताईन । २०७३/०७४ मा २ करोड ९९ लाख २५ हजार निक्षेप संकलन गरेको उक्त सहकारीले २०७४÷०७५ मा त्यसलाई बढाएर ३ करोड ६३ लाख १२ हजार पुर्याउन सफल भएको कार्कीले बताईन । २०७४/०७५ को अन्त्यसम्ममा सहकारीले रु. ७७ लाख ४२ हजार आम्दानी गर्न सफल भएको बताउदै कार्कीले भनिन्, ‘२०७४/०७५ को अन्त्यसम्ममा संस्थाको रु. ६ करोड ५१ लख ११ हजार कर्जा लगानी पुगेको छ ।’
यसअघि १२ औं साधारणसभाको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाकी उम-प्रमुख सन्जुकुमारी चौधरीले धेरै सहकारीमा आवद्ध हुनु भन्दा एउटै सहकारीमा आवद्ध भएर आफ्नो कारोबारलाई ब्यवस्थित गर्न सदस्यहरुलाई आग्रह गरेकी थिईन । उनले छोटो समयमै सहकारीले कोहलपुर क्षेत्रमा राम्रो प्रभाव छोड्न सफल भएको भन्दै खुसी समेत ब्यक्त गरेकी थिईन ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक कोहलपुरका प्रमुख किरण खत्रीले सहकारीले ग्रामीण भेगका स्थानियहरुको जिवनस्तरमा आमुल परिवर्तन ल्याएको दावी गरे । उनले बिकेन्द्रीकृत अवस्थामा रहेको पुँजीलाई संकलन गरी कर्जा प्रवाह गर्ने भएकाले पनि सहकारीको महत्व बढ्दै गएको दावी गरे ।
यसैबिच सहकारीले साधारणसभाको अवसरमा आफ्ना उत्कृष्ट कर्मचारी तथा बचतकर्ताहरुलाई सम्मान गरेको छ । संस्थाका वरिष्ठ ब्यवस्थापक ओमजङ्ग शाही कुशल ब्यवस्थापकका रुपमा सम्मानित भएका छन । त्यसैगरी संस्थाकी जेष्ठ सदस्य केशरी बुढाथोकी, एकल महिला धन कुमारी आले र स्वागत वेगमलाई सम्मान गरिएको हो । त्यसैगरी उत्कृष्ठ समुह संयोजक कृष्ण मल्ल, नियमित बचतकर्ता लालमाया गुरुङ र असल ऋणीका रुपमा पार्वती अधिकारी सम्मानित भएका हुन । त्यसैगरी संस्थामा आवद्ध सदस्यहरुमध्ये एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल शोभा गिरीलाई समेत सम्मानित गरिएको संस्थाका वरिष्ठ व्यवस्थापक ओमजङ्ग हाहीले जानकारी दिए ।
२८ मंसिर २०७५, शुक्रबार १९:३८ प्रकाशित