नगर विकास समिति कोहलपुरले आफ्नो नगर क्षेत्रभित्र विद्युत विस्तार गर्ने भएको छ । २०४१ सालमा स्थापना भएको नगर विकास समितिले झण्डैं ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतिकरणको योजना अघि सारेको हो । नगरलाई व्यवस्थित शहरमा विकसीत गर्ने योजना अनुसार २ करोड २५ लाख लागतमा विद्युतिकरण योजना संचालन गरिएको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
ब्यवस्थित विद्युतिकरण योजनाको बुधबार बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा साँसद महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरेका छन । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्यूरोडमा विद्युत पोल गाडेर योजनाको शुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा साँसद अथकले नगर विकासको अन्तराष्ट्रिय मान्यता अनुसार व्यवस्थित विद्युतीकरण योजना संचालन गरीएको प्रति खुसी ब्यक्त गर्दै विद्युत विस्तारकालागी सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, नगर विकास समितिका अध्यक्ष अवराज खड्का, वडा नं। ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा, उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्रबहादुर अधिकारी लगायत व्यक्तिहरुले योजना समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।
नगर विकास समिति कोहलपुर र विद्युत प्राधिकरणको संयुक्त प्रयासबाट योजना संचालन गरिएको विद्युत प्राधिकरण कोहलपुर शाखाका प्रमुख जगतनाथ लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार ब्यवस्थित विद्युतिकरणकालागि ११ मिटरका ३ सय ५० वटा पोलहरुमा हाईटेन्सन लाईन विस्तार गरिने छ भने, १०० वटा पोलमा लोटेन्सन (कम क्षमता) को लाईन विस्तार गरिने छ । नगर क्षेत्रका कतिपय स्थानहरुमा जडान गरिएका पुराना पोलहरु जिर्ण अवस्थामा रहेकाले पुराना पोलहरु हटाएर सबै पोलमा एकरुपता ल्याईने शाखा प्रमुख लामिछानेले जानकारी दिए ।
नगर क्षेत्रभित्र विद्युत विस्तारकालागि वाईवा ईन्फाटेक प्रा.लि. काठमाण्डौंले विद्युत प्राधिकरण कोहलपुर शाखासँग गरेको सम्झौता अनुसार कुल ४ सय ५० थान नयाँ पोल र ८ वटा ट्रान्सफर्मर जडान गर्ने कार्य सुरु गरिएको शाखा प्रमुख लामिछानेले बताए । व्यवस्थित विद्युतीकरणपछि अव्यवस्थित रुपमा तानिएका तार र त्यसबाट हुन सक्ने दुर्घटनाबाट नगरवासीहरुले उन्मुक्ती पाउने बताईएको छ ।
१९ मंसिर २०७५, बुधबार १८:१४ प्रकाशित