बाँकेका आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुको संस्था ‘न्यायिक समिति संघ बाँके’ को ९ औ बैठक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता र संघकी अध्यक्ष उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपालको संविधान २०७२ ले स्थानीय तहका (उप-प्रमुख) उपाध्यक्षहरुलाई स्तानीय तहको न्यायिक समितिको संयोजक रहने संवैधानिक व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार बाँकेमा रहेको आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुले नेपालगञ्ज उपमहानगरपालिकाकी उप-प्रमुख उमा थापा मगर अध्यक्ष र बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा सचिव रहेको स्थानीय न्यायिक समिति संघ गठन गरेका थिए ।
शुक्रबार कोहलपुर नगरपालिकामा आयोजित संघको बैंठकम । सबै न्यायिक समितिका संयोजकहरुलाई स्वागत गर्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी थारुले बाँकेका सबै स्थानीय तहहरुका न्यायिक समितिका संयोजकहरुलाई आ-आफ्ना स्थानीय तहमा न्यायिक समिति समक्ष आउने मुद्दाका प्रकृति, प्रवृत्तिको बारेमा अनुभवहरु आदान-प्रदान गर्ने तथा त्यस अनुभवबाट स्थानीय न्यायिक समितिले गर्ने न्याय सम्पादनमा एकरुपता ल्याउने प्रमुख उद्देश्यले संघ गठन भएको जानकारी गराइन् ।
स्थानीय तह न्यायिक समिति संघकी अध्यक्ष उमा थापा मगरले संविधानले स्थानीय तहका प्रमुख र उप-प्रमुखहरुलाई आ-आफ्नो जिम्मेवारी तोकेको भए पनि स्थानीय तहमा रहेका न्यायिक समितिहरुले सम्पादन गर्ने कामहरुको जस वा अपजस अन्ततः प्रमुख रहेका कारण पालिका प्रमुखलाई नै जाने बताउदै पालिकालाई सफल बनाउन सबै मिलेर नै काम गर्नु पर्ने धारणा राखिन् । थापाले भनिन्, ‘पालिका प्रमुख, उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच सहयोग र राम्रो समन्वय रहे पछि मात्र स्थानीय तहका सफल हुने हो, स्थानीय तहका काम कारबाही राम्रो सँग सम्पादन भए मात्र संघीयता सफल हुने हो ।’ स्थानीय न्यायिक समिति संघले बाँके सबै स्थानीयहरुमा पालै-पालो मोबाइल बैठक आयोजना गरेर सबै पालिकाहरुका प्रमख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु सँग अनुभवहरु आदान-प्रदान, समन्वय र सहयोगको वातावरण बनाउने काम गरेको थापाले दावि गरिन् ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद देवकोटाले राजनीतिक नेतृत्वले गरेका निर्णयहरुको कार्यन्वयन गराउने काम कर्मचारी प्रशासनको रहेको बताउदै त्यसको लागि आफूहरु सधै तयार हुने प्रतिवद्धता व्यक्त गरे । देवकोटाले भने, ‘बरु सय जना अपराधी छुटुन् तर एक जना निर्अपराधी व्यक्ति सजायको भागी नबनोस् भन्ने न्यायिक सिद्धान्तको मान्यताबाट प्ररीत भई न्याय सम्पादन गनुहोला ।’
बैठकको समापन गर्दै कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावत तीन तहका सरकारहरुमा जनतासँग प्रत्येक्ष जोेडिएको स्थानीय सरकार नै प्रमुख कार्यकारी भूमिकामा रहेको बताउँदै सबै जनप्रतिनिधिहरुले एमानदारी पूर्वक आ-आफ्नो जिम्मेवारी पुरा गरेर मात्र हामी सबै सफल हुने बताए । रावतले बाँके जिल्लाका सबै स्थानीय तहका न्यायिक समितिहरु मिलेर स्थानीय न्यायिक संघ गठन गरेर न्याय सम्पादनमा एकरुपता ल्याउने प्रयास गरेकोमा खुशी व्यक्त गरे । कतिपय सञ्चार माध्यममा प्रचार गरिए जस्तो कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको बीचमा कुनै प्रकारको असामानजस्य तथा मनमुटाव नरहेको बताउँदै कार्यपालिकाको बैठकमा छलफल हुँदा कतिपय विषयमा सामान्य बहस हुनु स्वभाविक भएको स्पष्ट पारे । कोहलपुर नगरपालिका प्रमुखले बाँकेका सबै स्थानीय तहका उपप्रमुखहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार समेत प्रदान गरेका थिए भने संघकी अध्यक्ष उमा थापा मगरले कोहलपुर नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई दोसल्ला ओढाई सम्मान गरेकी थिइन् । बैंठकमा सबै स्थानीय तहका न्यायिक समिति प्रमुखहरुको सहभागीता रहेको थियो ।
१५ मंसिर २०७५, शनिबार १६:४१ प्रकाशित