साईकिलिङमा रुचि राख्नेहरुकालागि खुसीको खबर बाहिरिएको छ । बाँके जिल्लाको बैजनाथ गाँउपालिकामा रहेको गाभर भ्याली सामुदायीक होमस्टेले बिहिबारदेखि साईकिलिङ सेवा सुरु गरेको छ । गाडी मार्फत जङ्गल सफारी गराउँदै आएको उक्त होमस्टेले साईकिलिङमा रुची राख्ने आगन्तुकहरुकालागि साईकलमार्फत भ्याली अवलोकनको ब्यवस्था मिलाएको गाभर भ्याली सामुदायीक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।
बिहिबार गाभर भ्यालीमा आयोजित एक कार्यक्रमकाबिच बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी, श्री मेयर गण चिसापानीका गणपती, कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख रमेश बहादुर सिंह लगायतले संयुक्त रुपमा साईकिलिङको उद्घाटन गरेका हुन ।
पछिल्लो समय साईकिलिङप्रति रुची राख्नेहरुको सँख्या बढ्दै गएको बताउँदै चौधरीले भने, ‘होमस्टेमा आउने स्वदेशी, विदेशी पाहुनाहरुलाई मध्यनजर गर्दै हामीले साकिलिङ सेवा सुरु गरेका हौं ।’ १ लाख १० हजार लागतमा ५ वटा साईकल खरीद गरि साईकिलिङ सेवा सुरु गरिएको चौधरीले जानकारी दिए । सामुदायिक साझेदारीमा संचालन गरिने साईकिलिङबाट आएको आम्दानी संरक्षणको क्षेत्रमा खर्च गर्ने योजना रहेको चौधरीले बताए ।
चौधरीका अनुसार ५ जनाको ग्रुपमा आउने पर्यटकहरुलाई साईकिलिङद्धारा गाभर भ्याली परिक्रमा गराउनुकासाथै भ्याली नजिकैका सामुदायीक वनहरुको समेत अवलोकन गराईने छ ।
१३ मंसिर २०७५, बिहीबार १७:४३ प्रकाशित