कोहलपुर मैदानमा क्यूरेटरद्धारा पिच निर्माण गरिदैं
  • काँचुली खबर

बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानको पिच निर्माण कार्य सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोहलपुर क्रिकेट मैदान निर्माण प्रक्रिया सुरु गरिएको हो । आईसिसिका मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर पिच निर्माण कार्यलाई तिब्रता दिईएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।
माघ २५ देखि संचालन गरिने आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट तर्फको खेल कोहलपुर क्रिकेट मैदानमा हुने पक्का भएपछि मैदान निर्माण कार्यले तिब्रता पाएको हो । थोरै समयमा धेरै काम गर्नुपर्ने भएकाले दिनरात नभनी काम गरीरहेको क्यूरेटर प्रफुल्ल प्रधानले जानकारी दिए । क्रिकेट मैदानमा निर्माण गरिने पिचकालागि विशेष खालको माटो आवश्यक पर्ने भएपनि माटोको सहज उपलब्धताले पिच निर्माण प्रक्रियामा थप सहजता आएको प्रधानले बताए । प्रतियोगिताकालागि ९० फिट लम्बाई र ३० फिट चौडाई क्षेत्रफलमा ३ वटा पक्की पिच निर्माण गरिने प्रधानले जानकारी दिए ।

पिचकालागि बिभिन्न चरणमा काम गर्नुपर्ने भएकाले सोलिङ गर्ने, माटो पाट्ने, लेवल मिलाउने, घाँस उमार्ने लगाएतका कार्यहरु डेढ देखि २ महिनाभित्रमा सम्पन्न गरिसक्नेगरी लक्ष्यकासाथ आफुले काम गरिरहेको क्यूरेटर प्रधानले जानकारी दिए । पिचका अलावा क्रिकेट मैदानलाई पक्की पर्खालले घेरबार गर्ने र गेट लगाउने काम समेत भईरहेको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बताए । वलीले निर्धारित समयमै प्रतियोगिता संचालन गर्न मिल्ने गरि मैदानमा बिभिन्न भौतीक पूर्वाधारहरु निर्माण भईरहेको दावी समेत गरे ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुर क्रिकेट मैदानमा आधुनिक शौचालय निर्माण गरिएको छ भने, आठौं राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै ड्रेसिङ रुम समेत निर्माण गर्न लागिएको राष्ट्रिय टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी दिए । त्यसैगरी कोहलपुर नगर विकास समितिको १ करोड ३८ लाख लागतमा मैदानको उत्तरतर्फ तटबन्धन गर्ने कार्य समेत सुरु गरिएको छ ।

तस्बिर : लेखबहादुर क्षेत्री

  • १२ मंसिर २०७५, बुधबार १५:३१ प्रकाशित
  • Nabintech