जनप्रतिनिधिहरुलाई जनप्रेमी हुन आग्रह
  • काँचुली खबर

नेकपाका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिहरुलाई जनप्रेमी हुन आग्रह गरेका छन । कोहलपुरमा शुक्रबार आयोजित अग्रज कार्यकर्ता भेटघाट कार्यक्रमका सहभागीहरुले जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन ।
राज्यमा तिन तहको स्थायी सरकार संचालन भएयता जनताका अपेक्षामा समेत उल्लेख्य बृद्धि भएको बताउँदै सहभागीहरुले जनप्रेमी योजनाहरु लगु गर्नुपर्नेमा जोड दिएका थिए । निर्वाचनताका जनतासँग गरिएका प्रतिवद्धताहरुलाई व्यवहारत कार्यान्वयन पक्षमा ल्याउन आवश्यक रहेको बताउँदै सहभागीहरुले भौगोलिक बनावट अनुसार बजेटको समान वितरण हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरवासीको अपेक्षा अनुसार काम गर्न नसकिएको स्वीकार गरे । उनले नगरवासीका अपेक्षाहरुलाई सम्बोधन गर्ने हरसम्भव प्रयास गरिएको भएपनि शतप्रतिशत सम्भव रहने अवस्था नरहेको भन्दै नगरसरकारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
कार्यक्रमकी विशिष्ट अतिथि तथा ५ नं. प्रदेश भूमि ब्यवस्था, सहकारी तथा कृषि मन्त्री आरती पौडेलले प्रदेश सरकारले एक वर्ष निति निर्माणमै खर्च गर्नुपर्ने अवस्था रहेको जिकिर गरिन । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भएकाले निति निर्माणमा केही समय लागेको जिकिर गर्दै मन्त्री पौडेलले आफु मातहतको मन्त्रालयले उल्लेखनिय कार्य सम्पादन गरिरहेको दाबी गरिन । प्रदेश राजधानी अनेत्रै गएसँगै बाँकेबाट महत्वपूर्ण कार्यालयहरु बहिरिने क्रम बढेपनि आफु मातहतका ११ सरकारी कार्यालयहरु बाँकेमै सुरक्षित गर्न सफल भएको मन्त्री पौडेलले स्पष्ट पारीन ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका साँसद महेश्वर गहतराज अथकले सबैका भावनाहरुलाई समेट्दै अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । आफ्नो अथक प्रयासबाट बाँकेको राप्तीपारी क्षेत्रमा विद्युतिकरण सम्भव भएको बताउँदै साँसद अथकले विकास र समृद्धिकालागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए । साँसद अथकले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आफुले योजना छनोट गरेको बताउँदै आगामी वर्ष सबैलाई समेट्ने किसिमले योजना तर्जुमा गरिने प्रतिवद्धता समेत जनाएका छन ।
कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

  • ७ मंसिर २०७५, शुक्रबार १७:४० प्रकाशित
  • Nabintech