कतार सरकारद्धारा बाँकेका अनाथ र गरिब विद्यार्थिलाई ४ लाख नगद सहयोग
  • काँचुली खबर

बाँकेका अनाथ, अति विपन्न गरिब तथा अपांगता भएका ३३ जना बालबालिकालाई कतार सरकारले ४ लाख भन्दा बढीको नगद सहायता सहयोग उपलब्ध गराएको छ ।
बाँके जिल्ला अन्र्तगत रहेका विभिन्न सामुदायिक विद्यालय, मदरसा र निजि स्कुलमा अध्ययनरत ३३ जना अनाथ, अति विपन्न गरिब र अपांगता भएका बालबालिकालाई कतार सरकारले उपलब्ध गराएको सो नगद सहयोग वितरण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमख मनप्रसाद रेग्मीले दिएको जानकारी अनुसार कतार सरकारको सहयोग र कतार च्यारेटीको संयोजनमा बाँके युनेस्को क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरि सो सहयोग रकम विद्यार्थीहरुलाई वितरण गरेको हो ।
१७ वर्ष मुनिका ती ३३ जना बालबालिकाहरुलाई नगद ६ हजार रुपैयाँदेखि ३२ हजार रुपैयाँसम्म सहयोग स्वरुप छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको शिक्षा शाखा प्रमख रेग्मीले बताए ।
सो अवसरमा ३३ जना बालबालिकालाई जम्मा नगद ४ लाख २३ हजार रुपैयाँ सहयोग गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए । सहयोग वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमख रेग्मीले बाँकेमा मधेशी तथा मुस्लिम समुदायका बालबालिका विभिन्न कारणले शिक्षामा पछाडी परेको जनाउँदै कतार सरकारको यस सहयोगले मुस्लिम समुदायका विपन्न तथा गरिब बालबालिकाको शिक्षामा पहुँच बढाउने विश्वास ब्यक्त गरेका थिए ।

उनले मुस्लिम समुदायका अभिभावक पनि बढी निरीक्षर भएकाले उनीहरुलाई समेत साक्षर बनाउनु पर्नेमा जोड दिदै ति अभिभावकलाई शिक्षाको महत्व बुझाउन सके अन्य काम सहज हुँदै जाने बताए । उनले नेपाल सरकारले आफै शिक्षा क्षेत्रमा व्यापक लगानी गरेर गुणस्तरिय शिक्षाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकोले अबको केही समयमै शिक्षामा देशले ठुलो फड्को मार्ने बताए ।
कतार च्यारेटी काठमाण्डौका कार्यक्रम अधिकृत जियाउर रहमान खानले सो अवसरमा बोल्दै बाँके जिल्लामा बसोबास गर्ने मुस्लिम समुदायका अनाथ, गरिब तथा असाहाय बालबालिकाहरुले शुल्क तिर्न नसकेर राम्रो शिक्षा आर्जन गर्न नसकेको अवस्थामा यस्तो सहयोगले उनिहरुलाई ठुलो टेवा पुग्ने बताए । सोही कारणले कतार सरकारले यस्तो सहयोग उपलब्ध गराएको पनि उनले बताए ।
बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक साजिद अली सिद्दिकीको सभापतित्वमा सम्पन्न नगद सहयोग वितरण कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार निरज गौतम, कार्यकारी निर्देशक रवि तुलाधर लगायतले पनि शिक्षाको विकासका लागि विदेशबाट प्राप्त सहयोग प्रशसंनीय रहेको बताएका थिए ।
गरिब, विपन्न तथा फरक क्षमताका विद्यार्थीहरुलाई कतार सरकारद्धारा उपलब्ध गराइएको सो नगद सहयोगले त्यस्ता विद्यार्थीहरु विद्यालय जान र उनिहरुको गुणस्तरिय शिक्षामा ठुलो सहयोग गर्ने क्लबले जनाएको छ ।

  • २८ कार्तिक २०७५, बुधबार ०७:५७ प्रकाशित
  • Nabintech