घर पोतेर सुन्दर बनाउने र घरपरिवारसङ्गै बसेर दशै खुसियालीका साथ मनाउने सपना बोकेर माटो लिन गएका एकै घरका तिन जनाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट श्रीनारायण चोक देखि करिव एक डेढ किलो मिटर उत्तर दालाइखोलामा माटो लिन गएका एकै घरका ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ देउखुरी मौरीघाटका ३० बर्षीय श्याम कुमारी चौधरी, ३५ बर्षीय निनाकुमारी चौधरी र १२ बर्षीय रेजिना चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् । निना कुमारी चौधरी श्याम कुमारीकी भाउजु हुन् भने रेजिना निनाकी भतिजी हुन् । घर पोत्ने माटो ल्याउन गएका उनीहरुलाई माटोको ढिस्कोले पुर्दा घटना स्थलमै मृत्यु भएको हो । उनीहरुको शबलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको प्रहरीले बताएको छ । घटना शनिवार दिउँसो १ बजे तिर भएको हो ।
१३ आश्विन २०७५, शनिबार २१:०० प्रकाशित