३१ बैशाख २०८१, सोमबार
नेपालगन्जमा रहेका सरकारी कार्यालय अन्यन्त्र नसार्न दबाब शुरु
  • काँचुली खबर

नेपालगन्जमा रहेका क्षेत्रीयस्तरका सरकारी कार्यालयहरु अन्यत्र सार्न नदिन नागरिकस्तरबाट पहल शुरु गरिएको छ ।

बाँकेका नागरिक अगुवा, सांसद र राजनीतिक दलका नेता सम्मिलित टोलीले आज जिल्ला प्रशासन कार्यालय मार्फत सरकारी संरचना जिल्लाबाट अन्यत्र नसार्न सरकारलाई अनुरोध गरेको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवल भएसँगै पछाडि परेको नेपालगन्जमा रहेका सरकारी संरचना समेत सार्न खोज्नु दुखद् भएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका सरकारी कार्यालय अन्यत्र सार्ने षडयन्त्र भईरहेकोले यसमा नेपालगन्जवासी सजक हुनु पर्ने उनको भनाई छ ।

त्यस्तै प्रदेश सांसद विजयबहादुर यादवको नेतृत्वमा प्रशासन पुगेको टोलीले सरकारी कार्यालय स्थानन्तरण प्रक्रियावारे जानकारी लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

पछिल्लो पटक नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय भेरी र सञ्चार केन्द्र अन्यत्रै सारिन लागिएको भन्दै रोक्नको लागि नागरिकस्तरबाट पहल सुरु भएको हो ।

टोलीका सदस्य नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान महासचिव विष्णु लामिछानेले नेपालगन्जमा रहेका कार्यालय अन्यत्र नसार्न दवाव दिन आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारका सम्बन्धित मन्त्रालयलाई ज्ञापन पत्र बुझाइने तयारी भएको जानकारी दिए ।

श्रोत : radiohatemalo.com

  • १२ आश्विन २०७५, शुक्रबार २२:१३ प्रकाशित
  • Nabintech