१६ बैशाख २०८१, आईतवार
बालबालिकाहरुलाई पोषाक वितरण
  • काँचुली खबर

कोहलपुर नगरपालिका १० मा रहेको जीवन ज्योति स्कूलले बाल दिवसको अवसरमा साना बालबालिकाहरुलाई पोषाक वितरण गरेको छ । भदौ २९ गते बालदिवस भएतापनि हिन्दू नारीहरुको महत्वपूर्ण आस्थाको दिन ऋषी पञ्चमी परेकाले शनिबार सो कार्यक्रम राखिएको आयोजक नेपाल करुना सेवा समाज र जीवन ज्योति स्कूलले जनाएको छ ।

शनिबार कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी थारुले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बालबालिकाहरुलाई पोषाक वितरण गरिन् । थारुले पोषक वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकालाई सहयोग स्वरुप पोषाक वितरण गर्ने कार्यले एकातिर बालबालिकाहरुले नयाँ पोषाक लगाउन पाएकोमा रमाउन पाएका छन् भने अर्को तिर अभिभावकहरुलाई पनि आर्थिक रुपमा राहत हुन पुगेको बताइन । उनले बालबालिकाहरुलाई राम्रो शिक्षा दिनु नै महत्वपूर्ण भएकाले त्यसमा अभिभावक र विद्यालयले विशेष ध्यान दिन सुझाव दिइन ।

जीवन ज्योति स्कूलका फादर प्रमोदले आफ्ना बालबालिकाहरुलाई राम्रो शिक्षा दिएर नै उनीहरुले भविश्यमा आफ्नो आफ्नो जीवनमा आइपर्ने समस्याहरुबाट जीवनलाई सुखमय बनाउन सक्ने बताए । जीवन ज्योति स्कूलमा नर्सरीमा भर्ना गराउन ल्याउनु भन्दा पहिले बालबालिकाहरुलाई तयारी गराउन नेपाल करुना सेवा समाजले अकलघरुवा , लखनवार, शान्तीनगर र सुतैयामा समूहमा बालिबालिकाहरुलाई प्रारम्भिक पढाई गराउदछ । तिनै बालबालिकाहरुलाई पोषाक वितरण गरिएको हो । साथै जीवन ज्योति स्कूलमा अध्यन गरिरहेका अन्य साना बालबालिकाहरुलाई समेत पोषक वितरण गरिएको थियो । कोहलपुर नगरपालिकाकी उप प्रमुख सन्जु कुमारी थारु र नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले बालबालिकाहरुलाई पोषाक वितरण गरेका हुन । करिब चार दर्जन बालबालिकाहरुलाई उक्त पोषाक वितरण गरिएको छ ।

  • ३१ भाद्र २०७५, आईतवार १०:४७ प्रकाशित
  • Nabintech