१६ चैत्र २०८०, शुक्रबार
उपभोक्ता अधिकारप्रति नगरपालिकाले देखायो संवेदनशीलता
  • काँचुली खबर

कोहलपुर नगरपालिकाले उपभोक्ता अधिकार प्रति संवेदनशीलता देखाएको छ । बाँकेमा रहेका सबै स्थानीय तहभन्दा अगाडी उपभोक्ता हित संरक्षण समितिलाई पूर्णता
दिएर गरिएको बजार अनुगमनको प्रतिवेदनमाथि छलफल गर्दै नगरपालिकाले उपभोक्ता अधिकारप्रति संवेदनशीलता जनाएको हो ।
मंगलबार उपभोक्ता हित संरक्षण मञ्च र बजार अनुगमन समितिको संयुक्त वैठकले कोहलपुर नगर क्षेत्रमा उपभोक्ताको स्वास्थ्य र हित प्रतिकुल हुने गरी व्यवसाय सञ्चालन गर्ने सबै प्रकारका वस्तुगत व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउनका लागि नियमनसँगै बजार अनुगमनलाई तिब्र पार्ने निर्णय भएको कोहलपुर नगरपालिका उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण मञ्च संयोजक सञ्जु कुमारी थारुले बताइन् ।
वैठकले यस अघि बजार अनुगमन समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै आगामी दिनमा उपभोक्ताको स्थास्थ्य र हितलाई पहिलो प्राथमिकतामा राखेर समितिले काम गर्ने निर्णय भएको छ । बजार अनुगमन समिति ले पेश गरेको प्रतिवेदनमा कोहलपुर नगर क्षेत्रमा सञ्चालित मासु पसल र दुग्ध डेरीहरु ९० प्रतिशत बढि तोकिएको मापदण्ड विपरित सञ्चालन हुँदै आएको बताइएको छ ।
विशेष गरी नगरस्तरमा सञ्चालित मासु पसलहरुले उपभोक्ताको स्थास्थ्यमा प्रतिकुल प्रभाव पार्ने गरी व्यवसाय सञ्चालन गरिरहेको समितिको ठहर छ ।
पहिलो चरणको अनुगमनमा आवश्यक मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालनका लागि जानकारी गराएपनि केहीले मात्र क्रमिक रुपमा आवश्यक मापदण्ड पुरा गर्ने तयारी गरेको र बाँकी व्यवसायीहरुले निर्वाध रुपमा पूर्ववत अवस्थामै व्यवसाय सञ्चालन गरिरहेको विषयमा समितिले गम्भिर चासो देखाएको छ ।
आगामी दिनमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर बजार अनुगमन गर्ने र अनुगमनका क्रममा देखिएको कमी कमजोरी तथा मापदण्ड पुरा गर्न आग्रह गर्ने त्यसपछिको अनुगमनमा मापदण्ड विपरित व्यवसाय सञ्चालन गरेको पाइएमा तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने समितिले निर्णय गरेको छ ।
सबैभन्दा जटिल समस्याका रुपमा पशु पंक्षीको खुल्ला बध र खुल्ला स्थानमा मासुको विक्री वितरण देखिएकाले यस्तो कार्यलाई तत्काल नियन्त्रण गर्न आगामी भदौ ३ गते मासु व्यवसायीहरुलाई व्यवसाय सञ्चालनका लागि बनेको मापदण्ड, कानुनी व्यवस्था र प्राविधिक कुराहरुबारे सचेतना गराउन अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको समिति संयोजक थारुले जानकारी दिइन् ।

  • २३ श्रावण २०७५, बुधबार २२:१६ प्रकाशित
  • Nabintech