१३ बैशाख २०८१, बिहीबार
हर्कतमा आए प्रतिनिधिसभाका १० वटै विषयगत समितिहरु
  • काँचुली खबर

प्रतिनिधिसभाका १० वटै विषयगत समिति सोमबारदेखि सक्रिय भएका छन् । संसद् बैठक बस्न थालेको झन्डै पाँच महिनापछि सबै समितिको पहिलो बैठक सोमबार बसेको छ । सरकारको कामकारबाही निगरानी गर्ने, सरकारलाई प्रश्न सोध्ने, संसद्मा आएका विधेयकमाथि दफावार छलफल गर्ने, त्यसमा आवश्यक थपघट गर्नेजस्ता महत्वपूर्ण काम समितिले गर्छन् ।
पहिलो दिन भएकाले समितिहरूको बैठक औपचारिकतामा मात्र सीमित भए । यद्यपी राज्य व्यवस्था तथा सुशासन समितिले भने २ वटा निर्णय गरेको छ । समितिका सदस्य तथा प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकका अनुसार समितिले संविधान अनुसार असोज ३ गतेभित्र निर्माण गरिसक्नुपर्ने कानुनहरुका बारेमा गम्भीर हुन र प्राकृतिक प्रकोपहरुको ब्यवस्थापनमा आवश्यक पूर्वतयारीका सम्बन्धमा समेत विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
समितिहरू सक्रिय नभएका बेला प्रतिनिधिसभा र राष्ट्रिय सभाले विधेयकहरू सिधै पारित गर्दै आएको थिए । अब दुवै सभाले विधेयक समितिमा पठाउन थालेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकले चारवटा विधेयक समितिमा पठाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा, लेखा परीक्षण, बिमा र सार्वजनिक सुरक्षासम्बन्धी विधेयक समितिमा पठाइएका हुन् । त्यस्तै राष्ट्रिय सभाले प्रशासकीय अदालत गठनसम्बन्धी विधेयक समितिमा पठाएको छ ।
पहिलो दिन भएकाले समितिको बैठक औपचारिकतामा सीमित भएको थियो । उपस्थितमध्ये ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बसेको थियो । राष्ट्रिय सभाका चारवटा विषयगत समितिको पहिलो बैठक भने मंगलबार बोलाइएको छ ।

  • २१ श्रावण २०७५, सोमबार २१:४९ प्रकाशित
  • Nabintech