१४ बैशाख २०८१, शुक्रबार
नेपाली कांग्रेस बाँकेको नेपालगन्जमा विरोध प्रदर्शन
  • काँचुली खबर

नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेले नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यालयको साउन १५ गते सबै जिल्ला सदरमुकामहरुमा सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय अनुसार बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गरिएको हो । 

जिल्ला कार्यसमिति बाँकेले मंगलवार नेपालगन्जमा सरकार अधिनायकबादतर्फ उन्मुख भएकाले आफूहरुले आन्दोलन थालेको बाँके सभापति किरण कोइरालाले बताउनुभयो । लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो कानुनी शासनको खिल्ली उडाउँदै सरकार मनोमानी ढंगले चलेको कोइरालाले आरोप लागउनुभयो ।

विरोध सभालाई सम्बोधन गर्दै प्रदेश सभा सांसद सुरेन्द्र हमालले सरकार अधिनायकबादी एवम् जनविरोधी क्रियाकलापहरुमा अग्रसर भएको, मूल्यबृद्धि आकासिएको, जनतामाथि कर थोपर्ने काम भएको, मन्त्रीहरुले गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिँदै हिँडेको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने लगायतका क्रियाकलापमा अग्रसर भएर लोकतन्त्रको अपमान गरेकाले लोकतन्त्र र जनताको पक्षमा आन्दोलन थालेको उल्लेख गर्नुभयो ।
कांग्रेस सभापति शेर बहादुर देउबा नेतृत्वको पूर्ववर्ति सरकारले गरेका निर्णयहरु वर्तमान सरकारले उल्टाएकाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । कांग्रेस कार्यकर्ताहरुले नालायक सरकार चाहिदैन, केपी ओली मुर्दाबाद जस्ता नारा लगाएका थिए । पार्टी कार्यालयबाट शुरु हुने विरोध प्रदर्शन विपीचोक, त्रिभुवनचोक, त्रिबेणी मोड, धम्बोझी चोक हुँदै पुनः विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विरोध सभा कार्यक्रममा नेपाली काँग्रेसका सांसद, पुर्वसांसद, नेपाली काँग्रेसका भातृसंगठन, सुभेक्षुक कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

  • १५ श्रावण २०७५, मंगलवार १७:०८ प्रकाशित
  • Nabintech