१७ साउन, काठमाडौं । नेपालले घरेलु मैदानमा शुरु भएको काभा महिला नेसन्स भलिबल लिग २०२४ मा विजयी शुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलनमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।
निकैनै प्रतिस्पर्धात्मक रुपमा हेरीएको श्रीलंकाविरुद्ध राम्रो लयमा देखिएको नेपाली टोली क्रमशस् २५-१९, २५-१८ र २५-१९ को सेटमा जित निकाल्न सफल भयो । पहिलो खेलमा सोझो सेटको जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ ।
नेपालले अब आफ्नो दोश्रो खेल साउन १८ गते भारत, तेश्रो खेल साउन १९ गते इरानसँग र लिग चरणको चौथो तथा अन्तिम खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ।
आज नै हुने दिनको दोश्रो खेलमा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ५:४५ बाट शुरु हुनेछ । साउन २३ गतेसम्म आयोजना प्रतियोगितामा नेपालसँगै भारत, इरान, श्रीलङका र मालदिभ्स गरि पाँच राष्ट्र सहभागि छन्। लिग चरणको अन्त्यपछि शीर्ष चारमा रहने राष्ट्र सेमिफाइनल प्रवेश गर्नेछन् ।
सेमिफाइनलमा लिगको पहिलो र चौथो तथा दोश्रो र तेश्रो स्थानमा रहने राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा लिग चरणका १०, सेमिफाइनल २, फाइनल र तेश्रो स्थानका गरि कूल १४ खेल हुनेछ।
नेपाल भलिबल संघले काभा नेसन्स लिग आयोजना गर्न लागेको यो पहिलो पटक हो । नेपालले गत वर्ष महिलातर्फको काभा महिला च्याम्पियनसिप २०२३ आयोजना गरेको थियो ।
१७ श्रावण २०८१, बिहीबार १७:११ प्रकाशित