बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
  • काँचुली खबर

६ साउन, काठमाण्डौं । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।

आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो ।

प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।

जम्कट्टेल सरकारबाट एमाले साढे २ महिनामै बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो ।

बागमतीमा अब कांग्रेस-एमाले गठबन्धन सरकार बन्नेछ । कांग्रेसबाट बहादुर सिं लामा मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदको हस्ताक्षर संकलन गरिएको छ ।

  • ६ श्रावण २०८१, आईतवार १५:०९ प्रकाशित
  • Nabintech