लक्ष्यभन्दा आधा मात्र राजस्व सङ्कलन
  • काँचुली खबर

१४ जेठ, नेपालगन्ज । पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व सङ्कलन गर्न सकेको छ ।

केही वर्ष पहिलेसम्म यो नाकाबाट लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुँदै आएकोमा सो घट्दै गएर अहिले लक्ष्यको आधा मात्र सङ्कलन हुने अवस्थामा पुगेको देखिन्छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८०-०८१ को दस महिनामा निर्धारित वार्षिक लक्ष्यको ५१.२३ प्रतिशत मात्रै राजस्व असुली भएको छ ।

अब बाँकी दुई महिनामा लक्ष्य भेटाउनका लागि भन्सारले बाँकी ४९ प्रतिशत राजस्व असुली गर्नुपर्ने भएकोले लक्ष्य अनुसार कुनै पनि हालतमा राजस्व सङ्कलन हुने देखिदैन । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ का लागि कुल २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य प्राप्त गरेकोमा वैशाख मसान्तसम्म जम्मा १४ अर्ब ६८ करोड २२ लाख ९० हजार मात्रै असुली गर्न सफल भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव बिकले बताए ।

उनले विभिन्न कारणले चालु आर्थिक वर्षको कुनै पनि महिनामा नेपालगन्ज भन्सारले आफ्नो मासिक लक्ष्य अनुसार असुली गर्न नसकेको जनाउँदै बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने उदेश्यका साथ काम गरिरहेको बताए ।

सीमापारिबाट हुँदै आएको ठुलो परिमाणको अवैध आयात, चोरी पैठारी र आयात-निर्यातमा भएको कमी कमजोरी लगायतकै कारण भन्सार राजस्व असुलीले लक्ष्य प्राप्त गर्न नसकेको जनाइएको छ ।

स्थानीय स्तरमा चोरी, तस्करी नियन्त्रण हुननसक्दा त्यसले भन्सारको लक्ष्यमा असर परेको स्थानीय व्यवसायीका अगुवाहरूले बताउँदै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी अगुवा नन्दलाल वैश्यले चोरी, तस्करी र अवैध आयात बढ्दै जाँदा वैध रुपमा सङ्कलन हुँदै आएको राजस्व सङ्कलन प्रभावित भएको बताए ।

उनले राजस्व सङ्कलन बढाउन नाकाबाट हुने तस्करी, अवैध आयात र चोरी निकासीलाई शून्यमा झार्नुको विकल्प नरहेको दाबी गरे । बाँकेमा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आउने बित्तिकै जिल्लाको राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर राजस्व असुली बढाउनका लागि चुहावट नियन्त्रण गर्न सरोकारवाला कार्यालयलाई निर्देशन दिएका छन ।

उनले पत्रकारहरुसँगको भेटमा पनि राजस्व सङ्कलन वृद्धि गर्नका लागि आफूले हरसम्भव प्रयास गर्ने बताएका थिए ।

-गोरखापत्रबाट

  • १४ जेष्ठ २०८१, सोमबार १६:४५ प्रकाशित
  • Nabintech