पत्रकारद्वय परियार र दलामीद्धारा पत्रकारीता पुरस्कारको घोषणा
  • काँचुली खबर

१२ जेठ, कोहलपुर । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँके शाखाका अध्यक्ष कविन्द्र परियारले बुवाको नाममा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् ।

संघको दोस्रो साधारण सभा तथा विशेष अधिवेशनको अवसरमा पत्रकार परियारले आफ्ना स्वर्गीय बुवा मोतीलाल परियारको सम्झनामा पुरस्कार घोषणा गरेका हुन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँके शाखाले हरेक वर्ष वितरण गर्ने उक्त पुरस्कारको नाम ‘स्व. मोतीलाल स्मृति पत्रकारिता पुरस्कार’ रहेको छ । अधिवेशनको क्रममा पुरस्कार घोषणा गर्दै अध्यक्ष परियार पुरस्कार राशी नगद् पाँच हजार रहने जानकारी दिए ।

परीयारका अनुसार बाँके जिल्लामा क्रियाशील रुपमा पत्रकारिता गर्ने एक जना दलित समुदायका पत्रकारलाई सम्मान गरिनेछ । विशेष गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिनेछ ।

पत्रकार परियारका बुवाको गत वर्ष घाँटीको क्यान्सरका कारण निधन भएको थियो । बाँके जिल्लामा १८ वर्षदेखि पत्रकारितामा क्रियाशील परियारले बुवाको सम्झनामा मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए ।

यस्तै उक्त अवसरमा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य कुसल दलामीले ‘सहिद विदुर स्मृति पत्रकारिता पुरस्कार’ को पनि घोषणा गरेका छन् । आदर्श आवाज मिडिया प्रा.लि. ले हरेक वर्ष घाइते, शसक्त तथा वेपत्ता र द्धन्द्धपीडित परिवारको पक्षमा समाचार लेख्ने एक जना पत्रकारलाई पुरस्कृत गर्ने दलामीले जानकारी दिए ।

उनका अनुसार पुरस्कारको राशी पाँच हजारको हुनेछ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बाँकेको दोस्रो साधारण सभा तथा विशेष अधिवेशनको अवसरमा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई सम्मान गरिएको छ । शनिबार सम्पन्न संघको साधारण सभा तथा विशेष अधिवेशनमा सुनारलाई सम्मानपत्रले सम्मानित गरीएको हो ।

  • १२ जेष्ठ २०८१, शनिबार १८:०३ प्रकाशित
  • Nabintech