बाँकेका ३९ जनाले पाए एक करोड २६ लाख क्षतिपूर्ति
  • काँचुली खबर

१ जेठ, नेपालगन्ज । वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप एक करोड २६ लाखभन्दा बढी राहत रकम पाएका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म विदेशमा रोजगारीका लागि गएर समस्यामा परेका बाँकेका ३९ जनाले सो क्षतिपूर्ति पाएका हुन् ।

सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक कमलसिंह नेपालीले दिएको जानकारी अनुसार वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, अङ्गभङ्ग, उद्धार तथा जालसाजीमा परेकाहरूले आप्रवासन कार्यक्रमको समन्वयमा वैदेशिक रोजगार बोर्डबाट एक करोड २६ लाख १९ हजार ४४० रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका हुन् ।

संयोजक नेपालीले नेपालगन्ज उपमहानगरपालिकाका १३ जनाले ३२ लाख ५० हजार, कोहलपुर नगरपालिकाका नौ जनाले ४५ लाख ५० हजार, खजुरा गाउँपालिकाका तीन जनाले पाँच लाख २९ हजार ४४०, बैजनाथ गाउँपालिकाका आठ जनाले २१ लाख र अन्य ठाउँका ६ जनाले २१ लाख रुपियाँ प्राप्त गरेको बताए ।

सुरक्षित आप्रवासन कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपालमा २०६७ सालदेखि सुरु भएको उक्त कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको जनाईएको छ ।

यसैगरि आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको सङ्ख्या नौ हजार ६२० पुगेको संयोजक नेपालीले बताए । सो क्रममा नेपालगन्जका दुई हजार ३४१, कोहलपुरका दुई हजार १९, खजुराका एक हजार ४९१, बैजनाथका १ हजार ३९९ र अन्य ठाउँका २ हजार ३७० जनाले परामर्श सेवा लिएका हुन् ।

सोही प्रकारले रिटर्नी स्वयंसेवक परिचालनमार्फत घर भेट तथा सूचना प्रवाहको कार्य प्रगति पनि उल्लेखनीय रहेको जनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सुरक्षित आप्रवासन कार्यक्रम नेपालगन्जमा प्रभावकारी बन्दै गएको जनाउँदै यसबाट लाभ लिनेहरु बढ्दै गएको बताए ।

उनले यो कार्यक्रममार्फत विदेशमा विभिन्न समस्यामा परेकालाई क्षतिपूर्ति दिलाउन सहज भएको पनि बताए ।
– गोरखापत्रबाट

  • १ जेष्ठ २०८१, मंगलवार १५:१८ प्रकाशित
  • Nabintech