६ जेष्ठ २०८१, आईतवार
नेपालबाट ठेकी संकलन गरेर तेस्रो मुलुक निर्यात गर्दै भारत
  • काँचुली खबर

२६ वैशाख, कोहलपुर । नेपालका ग्रामीण भेगबाट कवाडीका रूपमा सङ्कलन गरी काठका पुराना ठेकीहरू भारततर्फ लैजाने गरेको तथ्य फेला परेको छ । वर्षौँ पहिले नेपालमा बनेका पुराना ठेकी भारत जाने गरेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् ।

यसअघि पुराना ठेकी कवाडीका रूपमा सहजै भारततर्फ लगिए पनि पछिल्लो समय निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले बताए ।

नेपालका अन्य नाकाबाट भारत लैजाँदै गरिएका पुराना ठेकीमा शङ्का लागेर परीक्षण गर्दा कतिपय ठेकीभित्र लागुऔषध चरेस पनि फेला परेकोले जमुनाहा नाका र आसपासका क्षेत्रबाट भारत लैजाने ठेकीमा निगरानी बढाइएको उनले उल्लेख गरे।

करिब एक महिनाअघि बाँकेको जयसपुर हुँदै अवैध रूपमा ट्रकमा लोड गरेर भारततर्फ लैजाँदै गरिएका पुराना ठेकी बरामद गरिएको एकीकृत जाँच चौकी (आईसीपी) को सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक नरेश चौधरीले बताए।

“यस्ता ठेकी पहिले धेरै गइसके, तर माथिको निर्देशानुसार एक ट्रक नियन्त्रणमा लिएर एकएक गरी ठेकी चेक जाँच गर्‍यौँ। कुनै शङ्कास्पद वस्तु फेला परेन।”

सीमानाकाबाट नियन्त्रणमा लिइएका पुराना ठेकीभित्र कुनै शङ्कास्पद वस्तु नभेटिएपछि यो अहिले सबैको चासोको विषय बनेको छ ।

नेपालका गाउँबस्तीबाट ठेकी खरिद गर्ने र लैजाने व्यक्तिहरूको पहिचान गर्न नसकिए पनि अनुसन्धानका क्रममा भारतले तिनै पुराना ठेकीको बाहिरी भागमा तामा वा अन्य धातुको प्रयोग गरी अझ आकर्षक बनाएर तेस्रो मुलुकतिर निर्यात गर्ने गरेको पाइएको सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् ।

तेस्रो मुलकमा सजावट सामग्रीका रूपमा प्रयोग गर्ने गरिएको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अस्मिन थापाले बताए ।

पछिल्लो समय दूध, दही राख्न प्रयोग हुँदै आएको ठेकी लोप हुने अवस्थामा पुगेको छ । प्रयोग गर्न सजिलोका कारण ठेकीको साटो प्लास्टिक, स्टील, आल्मुनियमका भाँडा हावी भएपछि ठेकीको प्रयोग नगन्य मात्रामा हुने गरेको स्थानियहरु बताउँछन ।

तुलसीपुर उपमहानगरपालिका-१६ फचकलुवाका यज्ञमूर्ति गौतमले गत वर्ष नै आफ्ना टोलछिमेकबाट ठेकी किन्नेहरूले सस्तो मुल्यमा ठेकी किनेर लगिसकेका बताए।

ठेकीको आकार हेरेर सानोलाई डेढ सयदेखि दुई सय रुपैयाँसम्म र अलि ठूलो आकारको साढे तीन सय रुपैयाँसम्म मूल्य दिएर लगेको आफूले देखेको उनले बताए।

“हाम्रो टोलछिमेकमा सम्भवतः अहिले कसैको घरमा काठको ठेकी छैन, टुटेफुटेका ठेकी के काम भनेर गत वर्ष नै सबैले बेचिसके। कतिपयले त प्रयोग गर्न मिल्ने खालका ठेकी पनि बेचिसके” उनले भने ।

तर गाउँघरमा रहेका ठेकी कहाँ जान्छन् भन्नेबारे अहिलेसम्म स्थानीय सरकार वा कसैको ध्यान नगएको ओली बताउँछन्।
बीबीसीबाट

  • २६ बैशाख २०८१, बुधबार १४:४८ प्रकाशित
  • Nabintech