४ जेष्ठ २०८१, शुक्रबार
बाँकेमा डिपिटी र पोलियो खोप अभाव
  • काँचुली खबर

२० बैशाख, नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाका ३१ वर्षीय अनुप केसीले आफ्नो सानो छोरालाई डिपिटी र पोलियो खोप लगाउन बिहीबार तोकिएको स्वास्थ्य संस्थामा लगे।

यसअघि चैत २० गते पनि छोरा लगेर खोप लगाउन भनेर गएका केसी खोप नलगाई फर्किएका थिए। खोप अभाव भएको भन्दै स्वास्थ्यकर्मीले त्यतिबेला केसीलाई एक हप्ताभित्र सूचना दिने भन्दै फर्काएका थिए। एक महिनापछि वैशाख २० गते छोरा लिएर खोप लगाउन भनी स्वास्थ्य संस्थामा पुगेका केसीलाई फेरि पनि खोप उपलब्ध नभएको भन्दै फर्काइएको उनले गुनासो गरे।

बालबालिकालाई यो खोप बच्चा जन्मेको डेढदेखि तीन महिनाको अवधिमा लगाइसक्नुपर्ने हुन्छ। तर, खोप अभावका कारण बैजनाथका मात्रै हैन पूरै बाँके जिल्लाका बालबालिकाले अझै डिपिटी र पोलियोको खोप लगाउन पाइरहेका छैनन्।

गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख सिनियर अहेव लक्ष्मणराज शाहीले माथिबाटै नआएको हुँदा खोप अभाव भएको बताए।

आफूहरूले हरेक महिनाको १६ गते बालबालिकालाई दिनुपर्ने आवश्यक खोपहरूबारे माग फारम भरेर आाफूभन्दा माथिका निकायहरूमा पठाउने गरे पनि ती खोपहरू समयमै आइनपुगेको शाहीले गुनासो गरे।

शाहीका अनुसार अघिल्लो महिना टिसिभी खोपको अभाव भएको थियो। त्यो खोप आएपछि हाल लगाउन थालिएको छ।

अहिले फेरि एक महिनायता डिपिटी र पोलियो खोपको अभाव भएको साँचो हो,’ उनले भने, ‘समयमै लगाउन सके राम्रो हुन्थ्यो तर बालबालिकामा रोग प्रतिरोधात्मक शक्ति बढाउने यी खोपहरू अब अर्को महिना लगाउँदा पनि खासै फरक पर्दैन।’

बालबालिकाले नियमित पाउनु पर्ने खोपहरूसमेत समयमै उपलब्ध हुन नसक्दा सर्वसाधारणले नबुझेर आफूहरूलाई गाली गर्ने गरे पनि त्यसमा आफ्नो कुनै गल्ती वा कमजोरी नरहेको भन्दै शाहीले आफ्नो बचाउ गरे।

जिल्लामा भएको खोप अभावबारे बुझ्दा बाँके जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगतबहादुर शाहीले पनि सोही जबाफ दिए।

आवश्यक र नियमित उपलब्ध हुनुपर्ने खोप तथा औषधिका बारेमा आफूहरूले समयमै माग फारम भरी पठाउने गरे पनि संघ र प्रदेश सरकारबाट उपलब्ध हुन नसकेको गुनासो गरे।

‘मैले यो बीचमा दश वटा जति माग फारमहरू भरी पठाइसकेको छु, त्यो अनलाइनमार्फत् पनि पठाएको छु नपत्याए जो कोहीले नियाल्न सक्नुहुन्छ,’ उनले भने, ‘मागको समयमै सुनुवाइ नहुँदा बरू उल्टै हामीले अपजस खेप्नु परिरहेको छ।’

खोप किन समयमा नपठाइएको हो ? भन्नेबारे प्रदेशमा बुझ्दा प्रदेशले संघबाट प्राप्त हुन नसकेको बताउने गरेको र संघमा बुझ्दा अन्तर्राष्ट्रिय स्तरबाट आइनपुगेको भन्ने जबाफ पाउने गरेको उनले बताए।

‘आवश्यक खोप तथा औषधि खरिदका लागि हामीले आफैं टेन्डर गर्न पाउँदैनौं,’ शाहीले भने, ‘त्यो अधिकार संघ सरकारमा रहेको हुँदा उसले टेन्डर गरी विदेशबाट ल्याउनु पर्दा कहिलेकाहीँ ढिला हुने भन्ने जबाफ पाउँछौं।’

त्यस्तै, उनले काठमाडौंमा आवश्यक खोपहरू आइसकेको भए पनि त्यसको ल्याब टेष्ट गर्नुपर्ने भएका कारण ढिलाइ भइरहेको भन्ने सूचना आफूले पाएको पनि बताए।

बाँकेमा भएको खोप अभावबारे बुझ्दा संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख विवेककुमार लालले भने आफूहरूकहाँ कुनै ठाउँबाट पनि खोप अभाव भएको भनेर सूचना वा माग नआएको बताए।

‘हाम्रो संघीय स्तरको केन्द्रीय आपूर्ति केन्द्रबाट हामीले प्रदेशहरूमा पठाउँछौं,’ लालले भने, ‘अनि सम्बन्धित प्रदेशले जिल्लाहरूमा र जिल्लाले आफू मातहतका खोप केन्द्रहरूमा वितरण गर्छन्।’

अहिले कुनै खोप विशेषको अभाव भएको भनेर कहीँकतैबाट जानकारी नआएको प्रमुख लालले दाबी गरे।

‘यदि कुनै पनि खोपको अभाव भएको भए उहाँहरूले प्रदेशको आपूर्ति केन्द्रसँग सम्पर्क गर्नुहुन्थ्यो र त्यसपछि प्रदेशले हामीलाई जानकारी गराउँथ्यो,’ उनले भने, ‘अहिलेसम्म हामीलाई त्यस्तो अभाव छ भन्ने कुनै सूचना आएको छैन।’

यदि विश्वास नलागे लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा बुझ्न उनले आग्रह गरे। तर, प्रदेश व्यवस्थापन केन्द्रका कोल्ड चेन निरीक्षक हरिप्रसाद आचार्यले भने बाँकेले माग फारम पठाए पनि त्यो अनुरूप आफूहरूले संघबाट माग गरे पनि उपलब्ध भइनसकेको बताए।

‘बाँकेले हामीसँग माग गरेको थियो, तर हामीसँग मौज्दात जिरो भएको हुनाले दाङबाट तानेर बाँकेमा पठाइदिएका हौं,’ उनले भने, ‘यतिखेर बाँकेमा खोप सञ्चालन भइरहेको छ।’

बाँकेमा खोप नपुग्ने भएका कारण त्यो पूर्ति गर्नका लागि दाङबाट तानेर बाँके पठाइएको आचार्यले बताए।

स्वास्थ्य कार्यालय बाँकेले माग गरे पनि माथिबाट नआएको हुँदा प्रदेश व्यवस्थापनमा यतिखेर दादुरा र डिपिटी जिरो रहेको उनले बताए।

‘हामीले पटकपटक माथि पत्राचार गर्‍यौं,’ उनले भने, ‘कहिले ल्याबको कुरा मिलेन र कहिले के प्रक्रिया मिलेन भन्ने कुरा भो।’

बाहिरी मुलुकसँग सम्झौता गरेको कुरा नेपालजस्तो सानो मुलुकमा जतिखेर भन्यो त्यतिखेर नआउने समस्या हुनुपर्ने उनले तर्क गरे।

अब एक दुई दिनमै माथिबाट रुटिन अनुसारको खोपहरू आइसक्ने सम्भावना पनि उनले औंल्याए।

बाँकेमा दाङ र बर्दियाबाट सापटीमा खोप

बाँकेका स्वास्थ्य प्रमुख अंगतबहादुर शाहीले बिहीबार नै दाङ र बर्दिया जिल्लाबाट सापटीमा डिपिटी र पोलियो खोप ल्याउन थालिएको सेतोपाटीलाई बताए।

बर्दियाबाट २५० भाइल र एक सय टेन्टा तथा दाङबाट पनि एक सय टेन्टा खोप ल्याइएको शाहीले जानकारी दिए। बर्दिया र दाङबाट बाँकेलाई पुग्ने जति खोप ल्याउन थालिएको हुँदा शुक्रबारदेखि नै ती खोप बालबालिकालाई दिन सुरू हुने उनले जानकारी दिए।

‘हामीले आवश्यक खोपहरू दुई जिल्लाबाट सापटी मागेर आज नै ल्याइसकेका छौं, अब भोलिदेखि नै खोप लगाउन सुरू हुनेछ,’ शाहीले भने, ‘अहिले हामीले सापटी मागेको खोप अर्को महिना प्रदेश सरकारले उपलब्ध गराउने भन्ने शर्त छ।’

  • २० बैशाख २०८१, बिहीबार १८:३५ प्रकाशित
  • Nabintech